शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०१:४८
वासिङटन डिसी 15:03

लोकतन्त्रको सुन्दर पक्ष सहमति, सहकार्य र एकता: प्रधानमन्त्री कोइराला

इनेप्लिज २०७२ भदौ २२ गते १०:३१ मा प्रकाशित

PM Briefs on ICNRकाठमाडौँ, २२ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले लोकतन्त्रको सुन्दर पक्ष सहमति, सहकार्य र एकता भएको धारणा व्यक्त गर्नुभएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेसका तराई क्षेत्रबाट प्रतिनिधित्व गर्ने महिला, मधेसी, आदिवासीसहितका सभासद्सँगको छलफलमा उहाँले आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री कोइरालाले मुलुक नयाँ संविधान निर्माणको निर्णायक घडीमा रहेको र त्यसमा सबै क्षेत्र, वर्ग, जाति र समुदायको भावनालाई समेट्न आफूहरु प्रयत्नशील रहेको बताउनुभयो ।

देशका विभिन्न भागमा आन्दोलन गरिरहेकाहरुलाई वार्तामा आउन पटकपटक गरिएको आग्रहलाई बेवास्ता गरिएकामा उहाँले दुःख मनाउ गर्नुभयो ।

छलफलमा परिमार्जित मस्यौदा संविधानसम्बन्धी विधेयकमा राखिएका संशोधन प्रस्ताव र पछिल्लो राजनीतिक गतिरोधबारे पार्टीका शीर्ष नेताहरुले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

वरिष्ठ नेता शेरबहादुर देउवाले देशलाई धरासायी बनाएर पार्टी र व्यक्तिको स्वार्थ सिद्ध गर्ने कार्यले लोकतन्त्रको संस्थागत विकास हुन नसक्ने बताउनुभएको थियो ।

उहाँले आफ्नो अधिकार सुनिश्चित गर्न खोज्दा अर्काको अधिकार हनन गर्न नहुनेतर्फ सगज गराउँदै जनभावनालाई सम्बोधन गरी संविधानसभाबाट संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।

छलफलपछि काँग्रेसका उपसभापति एवम् वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चा र दलसँग पार्टीले घनीभूत छलफल गर्ने र असहमतिका विषयलाई छलफलबाट अन्त गर्ने बताउनुभयो ।

महामन्त्री कृष्णप्रसाद सिटौलाले छलफलपछि पत्रकारसँग कुरा गर्दै तराईको समस्या समाधान नगरी संविधान जारी हुन नसक्ने भएकाले मधेसवादी दलसँग तत्काल छलफल गरिने बताउनुभयो । छलफलमा पार्टीका केन्द्रीय सदस्यहरुको समेत उपस्थिति थियो ।

प्रतिक्रिया