पहिरोले अबरुद्ध मेची राजमार्ग आइतबारदेखि खुल्ने

इनेप्लिज २०७२ भदौ १९ गते १२:३२ मा प्रकाशित

ताप्लेजुङ, १९ भदौ । पहिरोका कारण अबरुद्ध बनेको मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड भोलि आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।

सङ्घीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको अनिश्चितकालीन पूर्व बन्द फिर्ता भएपछि आज दिउँसोबाट यातायात सञ्चालनमा आए पनि पहिरो पन्छाउन नसक्दा ताप्लेजुङ भित्रने तथा बाहिरिने सवारीसाधन भने सञ्चालनमा आउन सकेका छैनन् ।

लिम्बुवानको बन्द खुलेपछि पाँचथर, इलाम र झापाबाट ताप्लेजुङ भित्रने सवारीसाधन पहिरोका कारण बीच बाटोमै रोकिएका छन् भने ताप्लेजुङबाट बाहिरिने सवारीसाधन पनि चल्न सकेका छैनन् ।

ताप्लेजुङ–पाँचथर सडकखण्डको कयौँ स्थानमा साना तथा ठूला पहिरो खस्दा मेची राजमार्ग अबरुद्ध भएको हो । यस सडकखण्डअन्तर्गत खोक्से खोलानजिकै झरेको पहिरो आज बिहान स्काभेटरले पन्छाए पनि पुनः ठूलो पहिरो झरेर सडक अवरुद्ध भएपछि त्यसलाई पन्छाउन भोलिसम्म लाग्ने डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिनुभयो ।

गएरातिदेखि ठूलो वर्षा भएकाले बाटो पन्छाउनसाथ पुनः पहिरो खस्दा सडक खुलाउन झनै समस्या भएको उहाँको भनाइ छ ।

यता सदरमुकामदेखि आठ किलोमिटरको दुरीमा रहेको धुसेनी भीरनजिकै सडक माथिबाट झरेको ठूलो ढुङ्गा पन्छाउन आइतबारसम्म लाग्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।

स्काभेटरले ढुङ्गा पन्छाउन नसक्ने भएकाले होल खोपेर जिलेटिनको सहायतामा पड्काउने तयारी भएको बताइएको छ । आज होल खोपेर ढुङ्गा फुटाई आइतबार साँझसम्ममा मात्र मेची राजमार्ग खुल्ने सम्भावना रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया