सबैको सबैकुरा समेट्दा अग्रगामी संविधान बन्छ: मन्त्री पण्डित

इनेप्लिज २०७२ भदौ १९ गते १२:३१ मा प्रकाशित

Lal-babu-300x300काठमाडौँ, १९ भदौ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मधेसको अधिकांश माग मूलरुपमा सम्बोधन भइसकेकाले अब नमिलेका कुरा मिलाएर सीमाङ्कनमा रहेका असन्तुष्टि आयोग बनाएर सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले सबैले अगाडि सारेको माग संविधानमा समेटेर नयाँ बन्ने संविधानलाई उत्कृष्ट र अग्रगामी बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री पण्डितले सडकबाट संविधान घोषणा गरेर लागू हुन नसक्ने भन्दै अहिले संविधान जारी गर्न लोकतन्त्र, गणतन्त्र र सङ्घीयतावादी एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अहिलेसम्म डिभी र पिआर लिने कर्मचारीमध्ये जागिर छाडिसकेकाको सङ्ख्या ६२ पुगिसकेको जानकारी दिँदै अहिलेसम्म डिभी पिआर त्याग्नेको सङ्ख्या १०, परिवारसँग डिभी पिआर भएको जानकारी दिने सात, परित्याग गर्न चाहेको १० र जागिरबाट राजीनामा दिनेको सङ्ख्या चार रहेको बताउनुभयो ।

मन्त्री पण्डितले सरकारी कर्मचारी भएर थरुहटको आन्दोलनको नेतृत्व गरिरहेका धनिराम चौधरीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै कारबाही बर्खास्तीसम्म हुनसक्ने सङ्केत गर्नुभयो ।

उहाँले नयाँ संविधानमा कर्मचारीको ट्रेड युनियन अधिकार नखोसिने बताउँदै हडताल गर्न पाउने अधिकार भने नहुने बताउनुभयो ।

प्रतिक्रिया