शिक्षामन्त्रीको वार्ता आमन्त्रण, शिक्षक महासङ्घबाट अस्वीकार

इनेप्लिज २०७२ भदौ १९ गते ४:४९ मा प्रकाशित

काठमाडौँ, १९ भदौ । शिक्षकका पेसागत माग सम्बोधनका लागि शिक्षा मन्त्रालयले आजका लागि वार्तामा बोलाए पनि आन्दोलनरत नेपाल शिक्षक महासङ्घले शिक्षामन्त्री चित्रलेखा यादवसँग मात्रै वार्तामा बसेर निकास निस्कन नसक्ने ठहर गरेको छ ।

यही भदौ १७ गते मन्त्री यादवले महासङ्घका अध्यक्ष केशव निरौलालाई आज दिउँसो ३ बजे शिक्षा मन्त्रालय सिंहदरबारमा वार्ताका लागि आउन पत्राचार गर्नुभएको थियो । महासङ्घको शुक्रबार साँझ बसेको पदाधिकारी बैठकले मन्त्री यादवसहित प्रमुख दलका शिक्षा विभाग प्रमुख, संसदीय दलका प्रमुख सचेतकको उपस्थितिको प्रबन्ध भएमा मात्र वार्तामा जाने जवाफ पठाउने निर्णय गरेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष बाबुराम थापाले जानकारी दिनुभयो ।

गत २०६८ चैत २ मा सभामुखको पहलमा प्रमुख दलका शिक्षा विभाग प्रमुख, संसदीय दलका प्रमुख सचेतकको उपस्थितिमा भएको वार्तामा गरिएको सहमतिअनुसार अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरेर स्थायी र स्थायी हुन नसक्नेलाई स्थायी सरहको सुविधासहित बिदाइको व्यवस्थासहित शिक्षा ऐनमा संशोधन, संवैधानिक शिक्षक सेवा आयोग गठनलगायत माग राखी महासङ्घले आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया