अर्थ अभावमा निर्माणाधीन कबर्डहल अलपत्र

इनेप्लिज २०७२ भदौ १९ गते १:१२ मा प्रकाशित

खोटाङ, १९ भदौ । खोटाङको दिक्तेलमा निर्माणाधीन बहुउद्देश्यीय कबर्डहल अलपत्र परेको छ ।

चन्दा सङ्कलन र श्रमदानबाट निर्माण गर्ने उद्देश्य राखिएको बहुउद्देश्यीय कबर्डहलका लागि आवश्यक रकम अभाव भएपछि अलपत्र परेको हो । रु एक करोड १६ लाखको लागतमा सम्पन्न गर्नेगरी निर्माण थालिएको कबर्डहलका लागि रकम अभाव भएकाले अलपत्र परेको निर्माण उपभोक्ता समितिका अध्यक्ष कुमार आचार्यले बताउनुभयो ।

“जनश्रम र केही चन्दा सङ्कलनबाट जग र पिल्लर उभ्याउने काम भएको छ”–उहाँले भन्नुभयो, “यसमा राज्यको लगानी आवश्यक छ, त्यसैले सरकारको ध्यान जान जरुरी छ ।” अलपत्र कबर्डहल छिटो सम्पन्न गर्न जिविस तथा अन्य दातृ निकायसँग सहयोगका लागि अनुरोध गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
एकासी फिट लम्बाइ, ५६ फिट चौडाइ र ३३ फिट उचाइ हुने कबर्डहल निर्माण भएपछि हलभित्रै भलिबल, बास्केटबल, टेबलटेनिसलगायत खेल खेल्न सकिने छ ।
पाँच वर्षअघि निर्माण कार्य थालिएको कबर्डहलमा अहिलेसम्म जनश्रम र नगद गरी रु ४५ लाखभन्दा बढी खर्च भइसकेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

अलपत्र कबर्डहल निर्माणका लागि उपभोक्ता समितिसँग छलफल भइरहेको खेलकुद विकास समितिका अध्यक्ष माइतीराज राईले बताउनुभयो ।

प्रतिक्रिया