बागलुङ, १७ भदौ । प्रदेशको सीमाङ्कन गर्दा बागलुङलाई टुक्रयाउने निर्णयको विरोधमा आज यहाँ प्रदर्शन गरिएको छ ।
सदरमुकामलगायत जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा जिल्लावासी प्रदर्शनमा सहभागी बनेका हुन् । जिल्ला नटुक्राई प्रदेश नं ४ मा कायम गर्न माग गर्दै सुरु भएको आन्दोलन आज एघारौँ दिनमा पुगेको छ ।
बागलुङ विभाजनको निर्णय सच्चयाउन दबाब दिने उद्देश्यले आज ‘मानव साङ्लो’ को पनि प्रदर्शन गरिएको छ । पर्वत जिल्लासँगको सीमा मालढुङ्गादेखि पश्चिम निसीसम्मको करिब १३० किमी मध्यपहाडी राजमार्गका ठाउँ ठाउँमा हजारौं जिल्लावासी मानव साङ्लो प्रदर्शनमा सहभागी बने ।
बागलुङको पहिचान र अस्तित्व नै सङ्कटमा पार्ने गरी गरिएको विभाजन फिर्ता नभएसम्म आन्दोलन नरोकिने नेपाली काँगेस बागलुङका कावा सभापति जगदीशचन्द्र उपाध्यायले बताउनुभयो ।
देशकै एक मात्र शिकार आरक्ष ढोरपाटन, जलाधार क्षेत्र, प्राकृतिक, धार्मिक, साँस्कृतिक र जैविक हिसाबले महत्वपूर्ण क्षेत्रलाई षड्यन्त्रपूर्वक अलग गर्न खोजिएको आरोप नेताहरुले लगाएका छन् ।
प्रतिक्रिया