शनिबार, मंसिर २० २०७७
काठमाडौं ०१:४७
वासिङटन डिसी 15:02

संविधानमा धर्म निरपेक्षता शब्द राख्नु हुँदैन: डा कोइराला

इनेप्लिज २०७२ भदौ १७ गते १३:४८ मा प्रकाशित

sasanka-koiralaकाठमाडौँ, १७ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् डा शशाङ्क कोइरालाले अब बन्ने संविधानमा धर्म निरपेक्षता शब्द नै राख्न नहुने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “यो निरपेक्षता भनेको नकारात्मक शब्द हो त्यसैले यसलाई हटाउनुपर्छ ।” उहाँले नेपाली काँग्रेस स्वतन्त्रतामा विश्वास गर्ने भएकाले स्वतन्त्रतापूर्वक आ–आफ्नो धर्म अँगाल्न पाउने अधिकार हुनुपर्नेमा जोड दिनुभयो ।

यतिधेरै हिन्दू धर्मावलम्बी नागरिक भएको देशमा संविधानमा नै धर्म निरपेक्षता भनेर लेख्दा यसले धेरैको चित्त दुखाएको भन्दै उहाँले अबको संविधानमा यो शब्द राख्न नसकिने बताउनुभयो ।

लोकतन्त्र तथा अनुसन्धान मञ्चद्वारा आज यहाँ अयोजित कार्यक्रममा प्रा डा कुलप्रसाद कोइराला र धु्रवलाल पाण्डेद्वारा लिखित बिपी कोइराला व्यक्ति एक आयाम अनेक पुस्तकको विमोचन गर्दै उहाँले धार्मिक एवम् जातीय विषय उठाएर देशको राष्ट्रियतालाई खतरामा पार्ने षड्यन्त्र गरिएकाले सबै सचेत हुनुपर्दछ भन्नुभयो ।

नेता कोइरालाले नेपाली काँग्रेस समाजवादी दल भएकाले यसले समाजमा जातीय राजनीतिक कहिल्यै गर्दैन भन्नुभयो ।

सो कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिसमेत रहनुभएका प्रा डा कोइरालाले बिपीको राजनीतिक विचार र साहित्यिक प्रतिभाको नेपालमा मात्र नभएर विश्वमै चर्चा हुने गरेको धारणा राख्नुभयो ।

उक्त पुस्तकमा बिपीका राजनीतिक तथा साहित्यिक योगदानका विभिन्न आयामलाई समेटिएको छ ।

उक्त पुस्तकको समीक्षा गर्दै प्रा डा यज्ञ अधिकारी र डा गणेश घिमिरेले लेखकद्वयले वर्तमान अवस्थामा मुलुक राष्ट्रियताको सङ्कटमा परिरहेका बेला नेपाली राजनीतिमा बिपीको योगदानलाई उजागर गरेर वर्तमानमा नेपाली काँग्रेसलाई आफ्नो कर्तव्य बोध गराएको धारणा राख्नुभयो ।

प्रतिक्रिया