स्याङ्जाको टुँडिखेल अतिक्रमणको चपेटामा

इनेप्लिज २०७२ भदौ १७ गते २:५० मा प्रकाशित

स्याङ्जा, १६ भदौ । स्याङ्जाको सदरमुकामस्थित टुँडिखेल अतिक्रमणको चपेटामा परेको छ । सय रोपनीभन्दा बढी क्षेत्रफल भएको टुँडिखेलको केही भाग पहिरोको चपेटामा परेको छ भने केही भाग जिल्ला विकास समितिले पनि अतिक्रमण गरेको छ ।

यतिबेला टँुडिखेलको आकार खुम्चिएर लगभग पाँच रोपनी क्षेत्रफलमा बसेको छ । पञ्चायतकालमा अन्तर मावि जिल्लास्तरीय वीरेन्द्र सिल्ड प्रतियोगिता सञ्चालन गरिने टुँडिखेलमा अहिले एउटा मात्र भलिबलको कोटै बनाउन सकिने अवस्थामा झरेको छ । यसको संरक्षणमा न त स्थानीयवासीको चासो छ न स्थानीय निकायको ।

पुतलीबजार नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत कपिल गिरी सार्वजनिक महत्वको जग्गा सदरमुकामको मुटुमा रहेको टँुडिखेल जोगाउने जिम्मेवारी स्थानीयदेखि प्रशासनिक निकायको भएको बताउनुहुन्छ । गिरीले टुँडिखेल अतिक्रमण भएको स्वीकार गर्दै भन्नुभयो–“सबै मिलेर यसको संरक्षण गर्नैपर्छ ।” अतिक्रमणको चपेटामा परेको टुँडिखेल बिग्रेका सरकारी मोटर राख्ने, फोहोरमैला थोपार्ने, निजी क्षेत्रका बस, जिप, ट्रक पार्किङ गर्ने, जिविसका विभिन्न योजनाका पाइप, पुलका सामान र तारजाली थुपार्ने थलो बनेको छ ।

विक्रम संवत् २०४६ को राजनीतिक परिवर्तनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र एमाले महासचिव मदन भण्डारीले आमसभा गरेको टुँडिखेल त्यसपछि न कुनै राजनीतिक भेला, सम्मेलन, आमसभा भएका छन्, न कुनै खेलकुद प्रतियोगिता नै । टुँडिखेलको संरक्षण गर्न र यसको अस्तित्व जोगाउन राजनीतिक दलले चासो लिनुपर्ने प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरे बताउनुहुन्छ ।

प्रतिक्रिया