मधेसकेन्द्रित तीन दलबीच नयाँ समीकरण, वार्ताका लागि पहलकदमी गरिने

इनेप्लिज २०७२ भदौ १६ गते १५:१२ मा प्रकाशित

काठमाडौँ, १६ भदौ । मधेसकेन्द्रित तीन दलबीच नयाँ समीकरण भएको छ ।

मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक), राष्ट्रिय मधेस समाजवादी पार्टी(रामसपा) र मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) मिलेर ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका हुन् ।

यसअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक रहनुभएका फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार प्रमुख तीन दलसँग मिलेर १६ बुँदे सहमति गरेपछि मोर्चाबाट अलग्गिनुभएको थियो ।

नवगठित मोर्चाका एक घटक एवम् रामसपाका अध्यक्ष शरत्सिंह भण्डारीले  मोर्चाले संविधान निर्माणप्रति असन्तुष्ट दललाई सहमतिमा ल्याउने वातावरणका लागि पहलकदमीको गर्ने बताउनुभयो । “संविधानको परिमार्जित विधेयक संशोधन गर्ने अन्तिम समयसम्म असन्तुष्ट दलको न्यायोचित माग सम्बोधन गर्ने गरी सहमतिका लागि पहल गर्छौँ, संविधान संशोधन दर्ता गर्ने अन्तिम समयावधिसम्म पनि माग सम्बोधन नभए संविधान निर्माण प्रक्रियाबाटै बाहिरिन्छौँ”–उहाँले भन्नुभयो ।

नेता भण्डारीले मधेसमा भइरहेको अराजक स्थितिको तत्काल अन्त्य भए वार्ताको वातावरण बन्ने बताउनुभयो ।

प्रतिक्रिया