बुधबार, मंसिर १७ २०७७
काठमाडौं २२:५९
वासिङटन डिसी 12:14

यथास्थितिमा वार्ता सम्भव छैन: फोरम

इनेप्लिज २०७२ भदौ १६ गते १३:५१ मा प्रकाशित

Upendra-Yadavकाठमाडौँ, १६ भदौ । प्रदेश सीमाङ्कनको विषयलाई लिएर आन्दोलित संविधानसभाको पाँचौँ ठूलो दल सङ्घीय समाजवादी फोरम नेपालले यथास्थितिमा सत्ता पक्षसँग वार्ताको कुनै सम्भावना नरहेको बताएको छ ।

सो पार्टीले आज यहाँ पत्रकार सम्मेलन गरी सरकारले वार्ताका लागि पत्र पठाएको तर उचित वातावरण नबनाएको भन्दै यथास्थितिमा वार्ताको औचित्य नभएको स्पष्ट पारेको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफू राजधानीमा सरकारसँग वार्ता गर्न नभई पार्टीको कामले आएको जानकारी दिनुभयो । चार प्रमुख दलका तर्फबाट प्रधानमन्त्रीले पटक पटक वार्ताका लागि आह्वान गरे पनि मधेस आन्दोलनमा भएका सम्झौताको पालना नभएको गुनासो गर्दै उहाँले भन्नुभयो, “एकातिर वार्ताका लागि बोलाउने, अर्काेतिर आन्दोलनमा दमन गर्ने, यस्तो अवस्थामा वार्ता हुन सक्दैन ।”

पार्टीले सत्ता पक्षले पहिलो संविधानसभाले गरेका सहमति उल्ट्याउनाका साथै समावेशी लोकतन्त्र, समानुपातिक, समावेशीकरणलगायत युगान्तकारी परिवर्तनका उपलब्धिलाई समाप्त पार्ने काम गरेको आरोप लगाएको छ ।

पार्टीका वरिष्ठ नेता अशोककुमार राईले आफूहरु शान्तिपूर्ण रुपमा माग समाधान गर्ने पक्षमा रहेको स्पष्ट पार्दै वार्ताको वातावरण बनाउने काम सत्ता पक्षले गर्नुपर्ने उल्लेख गर्नुभयो ।

फोरमले सत्ता पक्षलाई विगतका आन्दोलनपछि आदिवासी÷जनजाति, मधेसीलगायतसँग भएका सम्झौता पालना, आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा र घाइतेको स्वास्थ्योपचारको व्यवस्था तथा संविधान निर्माणको प्रक्रिया स्थगन गरी वार्ताको वातावरण बनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया