मुस्ताङका भूकम्पपीडितलाई परिचयपत्र वितरण सुरु

इनेप्लिज २०७२ भदौ १६ गते ३:३१ मा प्रकाशित

मुस्ताङ, १६ भदौ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लाका भूकम्पपीडितलाई परिचयपत्र वितरण सुरु गरेको छ ।

भूकम्पका कारण घर तथा अन्य आवासगृहमा पूर्ण रुपमा क्षति पुगेका भूकम्पपीडितलाई राहतसँगै परिचयपत्र वितरण सुरु गरेको हो । भूकम्पपीडित परिचयपत्र पाएमा उनीहरुलाई अन्य सरकारी सुविधा प्राप्त गर्न सहज हुनेछ । भूकम्पले पूर्ण क्षति पुगेका ७६ घरपरिवारमध्ये अहिलेसम्म ३० परिवारलाई वितरण गरिसकेको प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिनुभयो ।

जिल्लामा १६ गाउँ विकास समिति रहेका छन् । तीमध्ये सबैभन्दा बढी घमी गाविसका घरमा क्षति पुगेको पाइएको छ । परिचयपत्र पाएमा राहतका अतिरिक्त पीडितको अन्यत्र कुनै स्थानमा आवासगृह नभएको पाइएमा तत्कालै आपत्कालीन आवास शीर्षकमा रु १५ हजार थप सहयोग प्रदान गर्न सकिने प्रावधान रहेको प्रशासनले जनाएको छ । प्रजिअ बरालले भन्नुभयो, “आंशिक क्षति भएका परिवारलाई केही समयपछि वितरण गर्ने योजना छ ।”

प्रतिक्रिया