बाइस गाविसमा एलजिएफ कार्यक्रम सुरु

इनेप्लिज २०७२ भदौ १४ गते ७:३५ मा प्रकाशित

ilam-mapइलाम, १४ भदौ । इलामका २२ गाविसमा यसै आर्थिक वर्षदेखि स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालनाका लागि अनुगमन कार्यक्रम सुरु भएको छ ।

स्थानीय निकाय जनप्रनिनिधिविहीन हुँदा स्थानीय निकायमा भ्रष्टाचार, अपारदर्शीता बढेको भन्दै सुधारका लागि स्थानीय शासन उत्तरदायी संयन्त्र (एलजिएफ) ले स्थानीय निकायमा अनुगमन कार्यक्रम सुरु गरेको हो ।

निर्वाचन क्षेत्र नं १ मा आठ, क्षेत्र नं २ र क्षेत्र नं ३ मा सात÷सात गाविसमा अनुगमन सुरु गरिएको एलजिएफका छवि श्रेष्ठले जानकारी दिनुभयो ।

क्षेत्र नं १ अन्तर्गत दानाबारी, लक्ष्मीपुर, शान्तिपुर, कोल्बुङ, चिसापानी, इरौटार, गोर्खे र श्रीअन्तु, क्षेत्र नं २ अन्तर्गत साङ्रुम्वा, चुलाचुली, महमाई, जीतपुर, एकतप्पा, सिद्धिथुम्का र सोयाक तथा क्षेत्र नं ३ अन्तर्गत चमैता, माईपोखरी, सुलुबुङ, सुम्वेक, नामसालिङ, नयाँबजार र सोयाङ गाविसमा स्थानीय शासन उत्तरदायी संयन्त्र कार्यक्रम लागू भएको हो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा सुनगाभा विकास संस्थाले सहजीकरण गरिरहेको श्रेष्ठले बताउनुभयो ।

स्थानीय निकायको सेवा प्रभावकारी बनाउन र स्थानीय निकायमा भइरहेका गतिविधिका कामको बारेमा जानकारी गराउने उद्देश्यले गत आवदेखि सुरु गरिएको कार्यक्रमको प्रभावकारितामा वृद्धि भएपछि यसपटक २२ गाविसमा कार्यक्रम सुरु गरिएको सुनगाभा विकास संस्थाका अध्यक्ष धर्मप्रसाद दाहालले बताउनुभयो । गतवर्ष जिविससहित दुई नगरपालिका र चार गाविसमा यो कार्यक्रम लागू गरिएको थियो ।

कार्यक्रमले स्थानीय निकायमा सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण, सुझाव पेटिकाको व्यवस्था, नागरिक वडापत्र, सूचना पार्टीलगायत विभिन्न कार्यक्रमको अनुगमन गर्ने जनाइएको छ ।

उक्त कार्यक्रमका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले रु २६ लाख सात हजार ९११ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया