सोमबार, मंसिर १५ २०७७
काठमाडौं ११:०४
वासिङटन डिसी 00:19

थारु समुदायलाई एक इन्च पनि दिन्न भनेको छैन: नेता देउवा

इनेप्लिज २०७२ भदौ १३ गते १५:१७ मा प्रकाशित

deuba4काठमाडौँ, १३ भदौ । नेपाली काँग्रेसका सभासद् शेरबहादुर देउवाले थारुलगायतका अल्पसङ्ख्यक समुदायलाई अधिकार दिन्न भनेर आफूले कहिल्यै कहीँ कतै पनि नभनेको बताउनुभएको छ ।

संविधानसभामा आज आफ्नो धारणा राख्दै उहाँले अल्पसङ्ख्यक समुदायलाई अधिकार सम्पन्न बनाउन आपूm सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो ‘‘कमैया र हलियाको मुक्तिका पक्षमा निरन्तर काम गर्दै आएको र सोही समुदायलाई अधिकार सम्पन्न बनाउन लागेको व्यक्ति भएकाले थारुलाई एक इन्च पनि दिन्न भनेर चलाएको हल्लामा कुनै सत्यता छैन, बोल्दै नबोलेको कुरा भड्काएर स्वार्थसिद्ध गर्न लागियो । मैले कहिल्यै पनि गलत मनसाय राखेको छैन ।”

थारु र पहाडी समुदायबीच शान्तिपूर्ण आन्दोलन गर्ने सहमति भएको भोलिपल्ट प्रहरी अधिकृत र बालकको हत्या हुनु मानवताविरुद्धको अपराध भएको बताउँदै सभासद् देउवाले सो समुदायलाई सांस्कृतिक, राजनीतिक अधिकारसहित संरक्षित क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन सकिने धारणा राख्नुभयो ।

उहाँले आपूm जिल्ला टुक्र्याउनु हुन्न भन्ने पक्षमा दृढ रहेको भन्दै थारु समुदायलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताउनुभयो ।

थारु समुदायको परम्परागत काम र प्रचलनलाई कानुनी र संवैधानिक मान्यता दिएर एकै ठाउँमा मिलेर बस्नुपर्ने र कर्णालीदेखि गण्डकीसम्म, बर्दियादेखि नवलपरासीसम्म थारुकै प्रदेश बनेको उहाँको कथन थियो ।

सभासद् देउवाले नेपालमा सङ्घीयता नयाँ प्रयोग रहेको भन्दै त्यसलाई आगामी दिनमा थपघट गर्न सकिने उल्लेख गर्नुभयो ।

हाल प्रस्तावित संविधानको विधेयक यान्त्रिक नभएको उल्लेख गर्दै उहाँले आगामी दिनमा संशोधन गर्न सकिने र मिलाउन सकिने बताउनुभयो ।

मजदुर वर्गले प्रतिनिधित्व संविधानमा प्रतिनिधित्व मागेको उल्लेख गर्दै सभासद् देउवाले खुल्ला बजार अर्थतन्त्रलाई अबलम्बन गरेर लगानीकर्ता र मजदुरको मागलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

उहाँले सबै वर्ग तथा क्षेत्रको मागलाई उचित सम्बोधन गर्नुपर्ने र सबैले अपनत्व महसुस गर्ने संविधान बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया