शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १९:३६
वासिङटन डिसी 08:51

आफ्नो योजना सफल भए कोहीपनि विदेशिन नपर्ने: मन्त्री पण्डित

इनेप्लिज २०७२ भदौ १३ गते १४:४९ मा प्रकाशित

Lal-babu-300x300काठमाडौं, १३ भदौ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले सुरु गरेको डिभी र पिआर लिने कर्मचारीविरुद्धको अभियानको विरोध गर्नेहरु नेपाली हुनै नसक्ने बताउनुभएको छ ।

दिनेशकुमार पोखरेलले लेख्नुभएको ‘सुशासनका लागि विद्युतीय अवधारणा’ पुस्तकको आज विमोचन गर्दै मन्त्री पण्डितले आफूले अघि सारेको योजना सफल भए आगामी १० वर्षपछि कोही पनि नेपाली रोजगारीको लागि विदेशिन नपर्ने बताउनुभयो ।

मन्त्री पण्डितले आफू कर्मचारीको सरुवा, बढुवा र कामलाई स्पष्ट देखाउने सफ्टवेयर निर्माणमा लागेको जानकारी दिँदै त्यो लागू भएपछि सरुवा बढुवाका लागि नियमविपरीत कसैको दबाबमा पनि काम नहुने र विकासको लागि ‘ईगभर्नेन्स’ अतिआवश्यक भइसकेकाले पोखरेलको पुस्तक यो क्षेत्रका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

एकीकृत नेकपा (माओवादी)का सभासद् अनिता परियारले प्रविधिले संसारलाई साँघुरो बनाइरहेको अवस्थामा विद्युतीय माध्यम नचाहेर पनि प्रयोग गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

पुस्तकमाथि समीक्षा गर्दै ललितपुरका प्रजिअ यादवप्रसाद कोइरालाले सुशासन र विद्युतीय शासन एक अर्काका पुरक भएको विचार व्यक्त गर्दै सरकारी सेवा चुस्त दुरुस्त हुन नसकेकाले जनताको आक्रोश बढ्दै गएको बताउनुभयो ।

प्रा डा कुमारप्रसाद कोइरालाले प्रविधिलाई अब कसैले रोक्न नसक्ने भन्दै पुस्तकले नेपाली समाजलाई त्यसको आवश्यकताको विषयमा सचेत गराउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकका प्रकाशक उपेन्द्र तामाङ तथा लेखक पोखरेलले ‘ईगभर्नेन्स’ लागू गर्न विद्युत् र सुचना प्रविधिको आपूर्ति अवरोधरहित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया