प्रशिक्षणमार्फत मोतीरामलाई सम्झँदै

इनेप्लिज २०७२ भदौ १३ गते ४:०८ मा प्रकाशित

काठमाडौँ, १३ भदौ । अनाममण्डली र एम्बिसन एकेडेमीको संयुक्त आयोजनामा शनिबार यहाँ काठमाडौँ उपत्यकाव्यापी उच्चमाध्यमिकस्तरीय गजल लेखन तथा वाचन प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

एक सय पचासौँ मोती जयन्तीका अवसरमा भदौभर विभिन्न कार्यक्रम गर्दै सबै उमेर समूहमा मोतीरामलाई पुर्‍याउने उद्देश्यका साथ अनाममण्डलीले यस हप्ता उमाविका विद्यार्थीमा गजलको जानकारी गराउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको जानकारी संस्थाका अध्यक्ष बलराम दाहालले दिनुभयो ।

उपत्यकाका विभिन्न उमाविका करिब ६० विद्यार्थीको उपस्थिति रहेको सो कार्यक्रममा युवा पुस्ताले उत्साहजनक रुपमा प्रशिक्षण लिएको एम्बिसन एकेडेमीका निर्देशक देवीप्रसाद घिमिरेले बताउनुभयो । अनाममण्डलीले विद्यालयस्तरीय गजल प्रशिक्षण कार्यक्रम समापन गरिसकेको र अब उमाविका विद्यार्थी हुँदै क्याम्पस स्तरसम्म र क्रमशः सबै उमेर समूहसम्म गजललाई पुर्‍याउने प्रमुख प्रशिक्षक कवि एवम् गजलगो देवी नेपालले जनाउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा डा जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्य तथा सरोज घिमिरेको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा प्रभाती किरण, ज्ञानु विद्रोही, जय गौडेल, शैलेन्द्र अधिकारी, नारायण निराशी आदिले पनि प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया