ललितपुरको कुम्भेश्वर मेलामा दर्शनार्थीको घुइँचो

इनेप्लिज २०७२ भदौ १२ गते ६:२५ मा प्रकाशित

kumbheswhar_melaललितपुर, १२ भदौ । आज बिहानैदेखि ललितपुरको बङ्गलामुखीस्थित कुम्भेश्वरमा हजारौँ दर्शनार्थी मेला भर्न लामबद्ध भएका छन् ।

जनैपूर्णिमाको दिन सो स्थानमा मेला भर्न स्थानीय पाटनवासी, चापागाउँ, हरिसिद्धि, ठैव, धापाखेल, सुनाकोठी, बुङ्मती, खोकना, गोदावरीलगायत उपत्यकाका विभिन्न स्थानबाट दर्शनार्थीको भीड लाग्ने गरेको छ । मेला भर्न गएका भक्तजनले त्यहाँ स्नान गर्ने, रक्षा बन्धन बाँध्ने, जनै फेर्ने, पूजा गर्ने चलन रहँदै आएको छ ।

बिहानैदेखि भक्तजनलाई टीका लगाई हातमा रक्षा बन्धन (डोरो) बाँध्ने काममा ब्राह्मण पुरोहितको लाम नै लाग्ने गरेको दृश्य देख्ने गरिन्छ । त्यहाँँ आएका भक्तजन कोही त्यहाँ रहेको धारामा त कोही पोखरीमा स्नान गरेको दृश्य पनि देख्न सकिन्छ, त कोही पूजा गर्न लामबद्ध भएर बसेका देख्न सकिन्छ ।

आजकै दिन तामाङ समुदायका झाँक्री (बोम्बो) ले ढ्याँङ्ग्रो बजाउँदै नाचगान गर्ने चलन मेलाको अवसरमा गर्ने गरिन्छ । लामबद्ध रुपमा आफ्नो धर्म संस्कृति जोगाउन उनीहरु जिल्लाकै दुर्गम गाउँहरु कालेश्वर, शङ्खु, गोटीखेल, माल्टालगायतका स्थानबाट आउने गर्छन् ।

दिनभरि नै कुम्भेश्वरको मेलामा भाग लिन टाढाटाढाबाट भक्तजन आउने गरेको स्थानीय अमीर बज्राचार्यले बताउनुभयो । यहाँ स्नान गरी पूजा गरेमा परिवारमा सुख शान्ति मिल्ने उहाँको तर्क रहेको छ ।

प्रतिक्रिया