सौराहा लायन्सको ‘विपन्न सहयोग र शैक्षिक अभियान’ सुरु

इनेप्लिज २०७२ भदौ १२ गते ३:५२ मा प्रकाशित

रत्ननगर (चितवन), १२ भदौ । लायन्स क्लब अफ चितवन सौराहाले विपन्न, असहाय र गरिब परिवारका बालबालिकालाई सहयोग गर्ने अभियान थालेको छ ।

उनीहरुलाई छात्रवृत्ति, शैक्षिक चेतना र स्टेसनरी सहयोग अभियान सुरु गरेको क्लबका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

सहरी क्षेत्रमा रहेका विपन्न र असहाय तथा विकट क्षेत्रका चेपाङ बालबालिकालाई केन्द्रित गरेर अभियान थालेको क्लबले जनाएको छ ।

चितवनको नारायणगढमा रहेको ‘हाम्रो घर’का बालबालिकालाई सहयोग गर्न अभियान सुरु गरिएको हो । हाम्रो घरमा बस्ने बालबालिका अनाथ, भूकम्पपीडित र सडकबाट ल्याइएका बालबालिका हुन् ।

सडक बालबालिका पुनःस्थापना केन्द्र हाम्रो घरमा बस्दै आएका २२ बालबालिकालाई शैक्षिक सामग्री र आर्थिक सहयोग गरिएको क्लबका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

लायन्स क्लब अफ इन्टरनेसनल ३२५ वी २ नेपालका डिस्ट्रिक प्रथम भाइस गभर्नर घनश्याम भट्टराईलगायतले सौराहा लायन्सले छोटो समयमै नमुना काम गरेर देखाउन सफल भएको भन्दै प्रशंसा गर्नुभयो ।

यहाँ रहेका २२ बालबालिकालाई शैक्षिक सामग्री र कक्षा ११ मा पढ्दै गरेका दुई विद्यार्थीलाई एक वर्षसम्म लाग्ने खर्च रु ३६ हजार सहयोग गरिएको थियो । सहयोग पाउनेमा सन्तोष किरण र सचिन किरण रहेका छन् ।

प्रतिक्रिया