बाँकेका ग्रामीण क्षेत्रमा अझै एम्बुलेन्स सेवाको पहुँच पुगेन

इनेप्लिज २०७२ भदौ १२ गते ३:४६ मा प्रकाशित

ambulance7खजुरा (बाँके), १२ भदौ । बाँके जिल्लाका ग्रामीण क्षेत्रमा अझै पनि एम्बुलेन्स सेवाको पहुँच पुग्न सकेको छैन ।

विभिन्न सङ्घसंस्थाले सेवाका लागि भनेर सञ्चालनमा ल्याइएका एम्बुलेन्स ग्रामीण क्षेत्रमा जान नमान्ने गरेका कारण पनि सेवाग्राहीले सेवा नपाएका हुन् । जिल्लामा रहेका एम्बुलेन्स सदरमुकाम नेपालगन्जमै केन्द्रित हुँदा झनै समस्या भएको नेपालगन्ज कारकाँदोकी सीता खड्काले बताउनुभयो ।

बाँकेमा विभिन्न सङ्घसंस्थाका २४ वटा एम्बुलेन्स छन् । तीमध्ये २१ वटा एम्बुलेन्स सञ्चालनमा छन् । जिल्लाका सबै ठाउँमा सडकको राम्रो पहुँच नभएर पनि एम्बुलेन्स जान मान्दैनन् । जिल्लाको विकट क्षेत्र मानिने राप्तीपारी क्षेत्रका नौ गाविसमा अहिले पनि एम्बुलेन्सको पहुँच छैन ।

बाटोको कारण देखाउँदै चालकले राप्तीपारी एम्बुलेन्स लैजान नमान्ने गरेको सेवाग्राहीको गुनासो छ । जिल्ला रेडक्रस कार्यालय बांँकेका दोलखबहादुर डाङ्गीका अनुसार सदरमुकाममा भन्दा पनि ग्रामीण क्षेत्रमै एम्बुलेन्स हुन आवश्यक रहेको छ ।

विभिन्न सङ्घसंस्थाले एम्बुलेन्स खरिद गर्ने क्रम बढेको छ । ठाउँठाउँमा आयोजना हुने मेला महोत्सव पनि एम्बुलेन्स खरिदकै लागि हुने गरिएका छन् ।

सबैलाई स्वास्थ्य सेवा सहजै दिने उद्देश्यले बिरामी ओसारपसार गर्ने एम्बुलेन्स नाफामुखी भएको आरोप पनि छ । भारतका लखनउ, बहराइचलगायतका स्थानमा सिफारिस बिरामी बोकेर जान सहजै तयार हुने गरेको जिल्ला एम्बुलेन्स समन्वय समिति बाँकेका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले बताउनुभयो ।

जिल्लामा तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र, २२ वटा स्वास्थ्य चौकी र २४ वटा उपस्वास्थ्य चौकीसहित जिल्ला जनस्वास्थ्य कार्यालय रहेको बाँकेमा कुनैमा पनि एम्बुलेन्स छैनन् ।

सरकारी निकायअन्तर्गत भेरी अञ्चल अस्पतालको एक मात्र एम्बुलेन्स पनि लामो समयदेखि बिग्रिएर ग्यारेजमा थन्किएको प्रमुख जिल्ला अधिकारी लेखकले बताउनुभयो ।

प्रतिक्रिया