बन्द खुकुलो भएपछि नेपालगन्जमा नागरिकको चहलपहल बढ्यो

इनेप्लिज २०७२ भदौ ११ गते १०:५९ मा प्रकाशित

नेपालगन्ज, ११ भदौ । नेपालगन्ज र कोहलपुर क्षेत्रमा गत १६ दिनदेखि लगातार गरिएको बन्द आजदेखि खुकुलो पारिएपछि यहाँका नागरिकको बजारमा चहलपहल बढेको छ ।

सीमाङ्कनको विरोधमा आमहडतालमा उत्रिएको संयुक्त थरुहट मधेस सङ्घर्ष समितिले हिन्दूहरुको पर्व रक्षाबन्धनलाई दृष्टिगत गरी आज र भोलि दुई दिन नेपालगन्ज र कोहलपुरमा पसल र साना सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेपछि बजार क्षेत्रमा नागरिकको घुइँचो लागेको हो ।

लामो समयको बन्दले उपभोग्य सामानको अभाव झेलेका नागरिकहरु बजारमा सामान किन्न गाउँबस्तीबाट आउने क्रम बढेको पाइन्छ ।

तर, बन्दकर्ताले चारपाङ्ग्रे सवारी साधन सञ्चालन गर्न नदिएपछि भने टाढाबाट बजार आउने उपभोक्तालाई सकस भएको छ भने भारत र नेपालका अन्य जिल्लाबाट ल्याउनुपर्ने दैनिक उपभोग्य सामग्री आयात गर्न सकिएको छैन ।

बन्द केही खुकुलो बनाइएपछि जिल्ला प्रशासन कार्यालय, बाँकेले नेपालगन्ज क्षेत्रमा लगाउँदै आएको निषेधित क्षेत्र आज विहान ११ः३० बजेदेखि हटाएको छ । तर, जिल्लाको कोहलपुर क्षेत्रमा निषेधित क्षेत्र फिर्ता नलिइएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद लेखकले बताउनुभयो ।

प्रतिक्रिया