तेत्तीस करोड बढी अपचलन गर्ने कृषि विकास बैंकका कर्मचारीसहित नौ जना पक्राउ

इनेप्लिज २०७२ भदौ १० गते १५:२३ मा प्रकाशित

काठमाडौँ, १० भदौ । कृषि विकास बैंकको रु ३३ करोड ८२ लाख ५७८ हानी, नोक्सानी पुर्‍याउने कार्यमा संलग्न सोही बैंकको स्वयम्भू शाखामा कार्यरत शाखा अधिकृत केदारप्रसाद गौतमसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गौतमकी जेठी श्रीमती सम्झना पोखरेल, कान्छी श्रीमती जेनी श्रेष्ठ, बैंककी लेखापाल गीता पन्त, भरतबहादुर बानिया, सूर्यबहादुर लिम्बु, कृष्णहरि थापा, सन्दिप गुप्ता, रामकुमार कुम्हारलाई विभिन्न स्थानबाट विभिन्न मितिमा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकालाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कारवाही गर्न पुनरावेदन अदालत, वाणिज्य ईजलाश, पाटनमा आज व्युरोले पेश गरेको छ ।

स्वयम्भूमा कार्यरत शाखा अधिकृत गौतम र रामेछाप जिल्ला घरभई हाल भारत बस्ने राजिब थापा भन्ने कृष्णहरि थापाको आपराधिक योजनाअनुसार गौतमले गत वर्ष असोज महिनामा कृषि बैंकको स्वयम्भु शाखामा केही दिनको अन्तरालमा चार वटा नक्कली खाता खोलेको अनुसन्धानको क्रममा खुलेको व्युरोले जनाएको छ ।

गौतम र थापाको योजनाअनुसार उल्लेखित खातामा अनियमित तवरले रकम जम्मा गर्ने, ट्रान्सफर गर्ने जिम्मेवारी केदारप्रसाद गौतमले तथा खातावालको बन्दोबस्त गर्ने जिम्मेवारीे एकापसमा बाँडफाड गरेको थिए ।

थापा विगत १४ वर्षदेखि भारतमा बसोबास गरी त्यहीको रासनकार्ड धारीसमेत भएकाले निजले भारतमा बसोबास गर्ने गरेका नेपालीमूलका व्यक्ति पहिचान गरी खातावाल बन्न प्रेरित गर्ने गरेको व्युरोले जनाएको छ ।

नागरिकता प्रमाणपत्रमा सम्बन्धित खातावालको फोटो मात्र प्रयोग गरी बाँकी सबै विवरण भूmठो देखिएको, केही नागरिकता प्रमाणपत्रको जारी मितिसमेत मिल्न गएको, नागरिकतामा उल्लेखित गाविस वास्तविकरुपमा अस्तित्व मै नरहेको, जारी भएको भनिएको सम्बन्धि जिल्ला प्रशासन कार्यालयसँग बुझ्दा त्यहाँबाट जारी नभएको पाइएको व्युरोले जनाएको छ ।

बैंकमा कार्यरत गौतम र पन्तले आफ्नो पासवर्ड प्रयोग गरी उल्लेखित खातामा देशभित्रकै कृषि विकास बैंकका विभिन्न १७ वटा शाखाबाट रकम आएको देखाइ बदनियत तवरले रकम जम्मा गर्ने तथा जम्मा भएको रकम कृषि विकास बैंकको पुतलीसडक, सातदोबाटो, मङ्गलबजार, न्यूरोड, रत्नपार्कलगायतका शाखाहरु तथा मेगा, सिभिल, लुम्बिनी, नेपाल इन्भेष्टमेन्ट, माछापुच्छ्रेलगायतका अन्य सात वटा बैंकमा खोलिएको नक्कली खाताको नाममा चेक जारी गरी २०७१ असोजदेखि २०७२ असारसम्म विभिन्न मितिमा पटक÷पटक कुल रु ३३ करोड ८२ लाख ५७८ भुक्तानी लिई बैंकलाई हानी÷नोक्सानी पु¥याएको अनुसन्धानको क्रममा खुलेको छ ।

रकम जम्मा गर्नकै लागि स्वयम्भू शाखामा खोलिएका चार वटा नक्कली खाताका अतिरिक्त कृषि विकास बैंककै उपत्यकाका रत्नपार्क, पुतलीसडक, मङ्गलबजार, सातदोबाटोलगायतका सात वटा शाखामा विभिन्न १० वटा नक्कली खाता खोलिएको थियो ।

योजना मुताबिक नै गत वर्ष चैतमा जेठी श्रीमती सम्झना पोखरेल र छोराछोरीसमेत अमेरिकातर्फ उडेको भनी हल्ला चलाई भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लाको सिलिगुढीमा अपार्टमेन्ट भाडामा लिई छोरालाई त्यहीको विद्यालयमा भर्ना गरी बसोबासको व्यवस्था मिलाएको छ ।

भारतमा बस्ने थापाको सहयोगमा आपूmले प्रेम शर्माको नाममा तथा श्रीमती सम्झना पोखरेलले सुनिता शर्माको नाममा भारतीय राशनकार्ड बनाएको र त्यसैको आधारमा बैंक खातासमेत खोलेको तथा जग्गा जमिनसमेत खरीद गरेका थिए ।

जेठी श्रीमतीलाई भारतमा पठाएपछि गौतम आपूm लाजिम्पाट, काठमाडौँमा अपार्टमेन्ट भाडामा लिई कान्छी श्रीमती जेनी श्रेष्ठसँग बसोबास गर्ने गरेको व्युरोले जनाएको छ ।

नक्कली नागरिकता बनाउन सहयोग गर्ने चारविरुद्ध मुद्दा दायर शाखा अधिकृत केदारप्रसाद गौतमलाई तेजबहादुर थापाको नाममा नक्कली नागरिकता र राहदानी बनाउन सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय, भक्तपुरका नायव सुब्बाद्वय लक्ष्मीप्रसाद तिमिल्सिना र मोहन देउबञ्जार, कार्यालय सहायक साजनकुमार नयाँजु र लेखनदास कृष्णबहादुर कटुवाल विरुद्ध पनि व्युरोले मुद्दा दायर गरेको छ ।

गौतमलाई तेजबहादुर थापाको नाममा भक्तपुरमा झूठो बसाइँसराइको कागज तयार गरी सोहीका आधारमा आफ्नो फोटो टाँसी तेजबहादुर थापाको नामको नागरिकताको प्रतिलिपी बनाई तेजबहादुर थापा कै नामको राहदानीसमेत दिलाउन सहयोग गरेको कसूरमा चारजना विरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरु उपर नागरिकता ऐन, २०६३ बमोजिम अनुसन्धानकार्य सम्पन्न गरी सम्मानित भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको तथा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतसमेत पर्ने भएकाले थप कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको व्युरोले जनाएको छ ।

प्रतिक्रिया