पोखरा, १० भदौ । कास्की जिल्ला अदालतले सेवाग्राहीको काम अब एक घन्टाभित्रै सक्ने गरी व्यवस्था मिलाएको छ ।
‘छिटो छरितो सेवा: हाम्रो प्रतिबद्धता’ नाराका साथ कास्की जिल्ला अदालतले सेवाग्राहीका लागि झन्झटमुक्त सेवा सुरु गरेको हो । अदालतले नक्कल दिने, पेसी÷तारेख तोक्ने, गुज्रेको तारेख थाम्ने÷थमाउने, वारेसनामा सकारनामासम्बन्धी कार्य, मिलापत्र, पुनरावेदन फिर्ता, तामेली लगायतको निवेदन दर्ता गर्ने, लिखित जवाफ वा अन्य प्रमाण कागजात पेस गर्ने, जुनसुकै फुट्कर निवेदन दर्ता वा दरपीठ गर्ने, पेसी तारेखलगायत मुद्दाको कारबाहीसम्बन्धी जानकारी, सूचना लिनेदिने लगायतका काम एक घन्टाभित्र उपलब्ध गराउने व्यवस्था मिलाइएको स्रेस्तेदार दीनबन्धु बरालले बताउनुभयो ।
छिटोछरितो झन्झटमुक्त सेवाको सुरुवातले अदालतप्रति जनविश्वास बढ्ने र सेवाग्राहीबाट सहजता महसुस गरिएको छ । अदालतमा रहेको सूचना कक्षलाई प्रभावकारी बनाउँदै अदालत परिसरमा अलमलमा परेका सेवाग्राहीलाई सम्बन्धित फाँटमा र शाखामा पु¥याउने व्यवस्थासमेत गरिएको जानकारी उहाँले दिनुभयो ।
प्रतिक्रिया