क्याम्पस जोगाउन जुटे म्याग्दीको बाबियाचौरका आमा

इनेप्लिज २०७२ भदौ १० गते १:५४ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), १० भदौ । समाजको हितका लागि भन्दा पनि पार्टीगत र व्यक्तिगत स्वार्थमा तल्लीन रहेको नेपाली समाजलाई पश्चिम म्याग्दीको बाबियाचौरका महिलाले गतिलो सन्देश दिएका छन् ।

राजनीतिक विचार र व्यक्तिगत कामलाई समेत थाती राखेर आर्थिक सङ्कटमा परेको गाउँको क्याम्पस जोगाउन दिनरात खटिरहेका छन् । जनआदर्श महिला समूह र जनआदर्श महिला सहकारी संस्थामा आबद्ध महिलाले घरदैलो अभियान, एक घर एक सहयोग, सबैको क्याम्पस लगायतका नारासहित बाबियाचौर, अर्मन, बरंजा, कुहूँ, निस्कोट क्षेत्रमा आर्थिक सङ्कलन गरिरहेका छन् । गत वर्षको मङ्सिरदेखि सुरु भएको अभियानमा महिलाले दुर्गम क्षेत्रमा समेत पुगेर आर्थिक जुटाएको बिना भण्डारीले बताउनुभयो ।

अघिल्ला वर्ष मङ्गला उच्च माविबाटै दश जोड दुई सकेकी भण्डारीले ग्रामीण क्षेत्रमा उच्च मावि र क्याम्पसमा अधिकांश छोरीबुहारी अध्ययनरत रहेको अवस्थामा आर्थिक सङ्कटकै कारण पठनपाठन नियमित नहुनु तथा आवश्यक भौतिक पूर्वाधारको अभावले सुविधा समेत कटौती भइरहेकाले पनि आफ्नो व्यक्तिगत घरायसी कामलाई समेत थाती राखेर महिला आर्थिक सङ्कलनमा जुटेको बताउनुभयो ।

महिलाले अभियान सुरु गरेकै दिन बरंजा–१ सातविसेकी १०१ वर्षीया आसिमा रोकाले रु तीन लाख ५० हजार सहयोग गर्नुभएको छ । नगरोन्मुख बाबियाचौर बजारका महिला एकजुट भएपछि दैनिकजसो लाखौं रकम सङ्कलन हुन थालेको जनआदर्श महिला सहकारी संस्थाकी उपाध्यक्ष देवीकुमारी खत्रीले बताउनुभयो ।

महिलाले थालेको अभियानलाई सफल बनाउन पुरुषले समेत विभिन्न उपसमिति बनाएर सघाइरहेका छन् । रु एक करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म रु ८० लाख सङ्कलन भइसकेको छ ।
पश्चिम म्याग्दीका विभिन्न गाविसका साथै बागलुङबाट समेत अध्ययन गर्न आउने क्याम्सपमा शिक्षा सङ्कायअन्तर्गत नेपाली, अङ्ग्रेजी र गणित विषयमा ५६ विद्यार्थी अध्ययनरत छन् । तलब व्यवस्थापनमा मात्र मासिक रु दुई लाख खर्च हुने गरिएको छ । ग्रामीण क्षेत्रमा क्याम्पस सञ्चालन हुँदा छात्रको तुलनामा छात्रालाई बढी राहत मिलेको छ ।

प्रतिक्रिया