रुकुममा मोटरसाइकल र्‍याली

इनेप्लिज २०७२ भदौ ९ गते १५:२८ मा प्रकाशित

Rss_Images_1440594649847_GL-Ilam-Sadvabpurna Bike Ryali (3)रुकुम, ९ भदौ । रुकुमलाई प्रशासनिक राजनीतिक, सांस्कृतिक र भौगोलिक सुगमता मिल्ने गरी प्रदेश नम्बर पाँचमा राख्न माग गर्दै आएका रुकुमेलीले आज मुसिकोट नगरपालिकादेखि खौला बजारसम्म मोटरसाइकल तथा जिप र्‍याली निकालेका छन् ।

एकीकृत रुकुम संयुक्त सङ्घर्ष समितिले भदौ ८ देखि २५ गतेसम्म जिल्लाका ४१ गाविस र एक नगरपालिकामा रुकुमलाई प्रदेश नं ५ मा कायम गर्नुपर्ने प्रस्तावमा नागरिकका हस्ताक्षर सङ्कलन गरिरहेको छ ।

भदौ २६ देखि २८ गते जिल्लाका विभिन्न स्थानमा रुकुमलाई प्रदेश नं ५ मा कायम राख्ने विषयमा जिल्लाका विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम गरिने समितिले जनाएको छ ।

यसैगरी भदौ ३० गते जिल्लाका सबै गाविस र नगरपालिकामा बृहत अन्तरक्रियाका गर्ने र ३१ गते जिल्लाका सबै गाविस र नगरपालिकाबाट आएका सुझावसहित सिङ्गो जिल्लालाई प्रदेश नं ५ मा राख्नुपर्ने कारणसहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय रुकुममार्फत संविधानसभामा र विशेष समितिलगायत सम्बन्धित निकायमा बुझाइने समितिले प्रेस विज्ञप्तिमा जनाएको छ ।

आन्दोलनलाई हिंसात्मक हुन नदिन सर्वदलीय/सर्वपक्षीय बैठक बसी शान्तिपूर्ण रुपमा दबाब सिर्जना गर्ने निर्णय भएको नेपाली काँग्रेसका महासमिति सदस्य कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।

प्रतिक्रिया