बिहीबारदेखि प्लास्टिक उद्योगमा अनुगमन

इनेप्लिज २०७२ भदौ ९ गते १४:४८ मा प्रकाशित

काठमाडौँ, ९ भदौ । उपत्यकामा प्लास्टिक झोला निषेध गरेपछि वातावरण विभागले पहिलोपटक बिहीबारबाट उपत्यकाका प्लास्टिक उद्योगमै अनुगमन सुरु गर्ने भएको छ ।

थोक र खुद्रा प्लास्टिक व्यापारीकोमा मात्र अनुगमन गरी कारबाहीको प्रक्रिया अघि बढाउँदा मूल सफा नगरी धारा सफा हुँदैन भन्ने धेरैको विचार आएकाले उद्योगमै अनुगमन गर्न लागिएको हो ।

काठमाडौँ बाहिर पनि ३० माइक्रोनभन्दा कमको प्लास्टिक झोला विक्री वितरण बन्द गरिएकाले अनुगमनका क्रममा सोभन्दा कम उत्पादन गर्ने उद्योगलाई कारबाहीको प्रक्रिया अगाडि बढाइने विभागका उपमहानिर्देशक सुरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

“उपत्यकामा ४० भन्दा धेरै प्लास्टिक उद्योग रहेको तथ्याङ्क पाएका छौँ, बिहीबारबाट सबै उद्योगमा अनुगमन गरी सरकारले तोकेभन्दा कम क्षमताको प्लास्टिक झोला उत्पादन गर्र्ने उद्योगलाई कारबाहीका लागि विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयमा सिफारिस गर्नेछौँ” –उहाँले भन्नुभयो ।

वैशाख १२ गतेको भूकम्पले देशका धेरै जिल्लामा प्रभाव पारेपछि विभागले अनुगमन बन्द गरेको थियो । भूकम्पको तीन महिना बितेपछि साउन १४ गतेबाट विभागले पुनः अनुगमन सुरु गरेको थियो । साउन १४ देखि ३२ गतेसम्मको अनुगमनबाट एक हजार ८० केजी प्लास्टिक जफत गरिएको विभागले जनाएको छ । भूकम्पपछि काठमाडौँ र ललितपुरका महानगरपालिका, उपमहानगरपालिका एवम् नगरपालिकामा अनुगमन गरिएको छ । भक्तपुरमा भूकम्पले धेरै प्रभाव पारेकाले अनुगमन नगरिएको हो ।

प्रतिक्रिया