बन्दको स्वरुप परिवर्तन गर्न उवासङ्घको अपिल

इनेप्लिज २०७२ भदौ ९ गते ४:०७ मा प्रकाशित

रत्ननगर (चितवन), ९ भदौ । उद्योग वाणिज्य सङ्घ चितवनले विभिन्न समूहको बन्द र आन्दोलनका कारण लगातार उद्योग व्यवसाय प्रभावित भइरहेको भन्दै बन्द र हडतालका कार्यक्रमलाई रोकेर आन्दोलनको स्वरुप परिवर्तन गर्न अपिल गरेको छ ।

सङ्घका अध्यक्ष कल्याण जोशीले हरेक आन्दोलनको पहिलो मार नै उद्योगी–व्यवसायी हुने गरेको भन्दै माग राख्न पाउनु अधिकार भए पनि आफ्नो अधिकार उपयोग गर्दा अरूको अधिकार हनन गर्न नहुनेमा जोड दिनुभयो ।

लगातारको बन्दले व्यवसाय धरासायी भएको र करोडौँ ऋण लिएर व्यवसाय सुरु गरेकाले ब्याजसमेत तिर्न नपाएको भन्दै यसतर्फ गम्भीर भइदिन आन्दोलनरत पक्ष र प्रशासनसँग उहाँले आग्रह गर्नुभयो । सङ्घले आज एक विज्ञप्ति जारी गरी भूकम्पको मारमा परेका व्यवसायीलार्ई बन्दले थप ठूलो आघात पुर्‍याएको जनाएको छ ।

‘नया“ संविधान निर्माणको अन्तिम तयारीको अवस्थामा देशका विभिन्न स्थानमा भइरहेको बन्द र हडतालप्रति उद्योग वाणिज्य सङ्घ चितवनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

गत वैशाखमा भूकम्पले देशको अर्थतन्त्र तहसनहस पारेको अवस्थामा हाल विभिन्न माग पूरा गराउने उद्देश्यले निरन्तर रुपमा भइरहेको बन्द हडतालबाट देशको अर्थतन्त्र झन् धरासयी बन्दै गइरहेको विज्ञप्तिमा उल्लेख छ ।

जुनसुकै समस्याको समाधान बन्द होइन । त्यसको कुनै वास्ता नगरीकन राजनीतिक दल लगायतका विभिन्न समूहले आ–आफ्ना माग पूरा गराउने नाममा बन्दलाई निरन्तरता दिइरहेको भन्दै सङ्घले दुःख प्रकट गरेको छ ।

साथै यस कठिन परिस्थितिमा सबैमा संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै आन्दोलनको स्वरुप परिवर्तन गरी जारी बन्द हडतालका सबै कार्यक्रम फिर्ता लिनसमेत सङ्घले सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया