ज्याला कम भएको भन्दै चिया मजदुर पलायन हुने क्रम बढ्दो

इनेप्लिज २०७२ भदौ ९ गते ३:५९ मा प्रकाशित

ilam-tea-farmingइलाम, ९ भदौ । महँगीअनुसार ज्याला नपाएपछि इलामका चार र झापाका तीनवटा चिया बगानमा कार्यरत मजदुर धमाधम पलायन हुन थालेका छन् ।

विसं २०५७ मा त्रिवेणी सङ्घाई ग्रुपले नेपाल सरकारबाट बगान भाडामा लिँदा सातवटा चिया बगानमा दुई हजार ३४० जना स्थायी मजदुर थिए । “तर हाल आएर ज्यालाकै कारण मजदुरको सङ्ख्या घटेर ८७५ पुगेको छ” निगमको विर्तामोडस्थित कार्यालयका प्रशासन प्रमुख लोकनाथ दङ्गालले भन्नुभयो । चियामा काम गर्ने मजदुरले वर्षाैंदेखि दैनिक रु एक सय ७० मात्र ज्याला पाइरहेका छन् ।

चियाबाहेक निर्माण क्षेत्रमा काम गर्ने मजदुरले दैनिक रु ५०० भन्दा बढी कमाउँछन् । तर जिल्ला दररेट निर्धारण समितिले कामदारको ज्यालादर आठ प्रतिशतले वृद्धि गरी रु ६६० बाट रु ७१० पु¥याए पनि चिया क्षेत्रमा काम गर्ने मजदुरको वर्षाैंदेखिको ज्याला नबढेको मजदुरको गुनासो छ ।

दिनभर चिया टिपे पनि त्यसबाट मजदुरको जीवन धान्न गाह्रो परकोले बगानमा काम गर्ने मजदुर पलायन हुने क्रम बढेको हो । इलाम र झापाका चिया बगानमा काम गर्ने मजदुरलाई कारखानाले फरक–फरक ज्याला दिइरहेका छन् । चिया व्यवस्थापन पक्षले समयसापेक्ष ज्याला नदिँदा चिया बगानबाट विस्थापित बन्नु परेको यहाँ कार्यरत मजदुर बताउँछन् ।

सुरुमा इलाम चिया बगानमा १२० मजदुर कार्यरत थिए । अहिले २९ जना मात्र स्थायी मजदुर छन् । “एक दशकअघि सम्म १२० स्थायी मजदुर थिए, कम ज्याला भएको भन्दै धमाधम पलायन हुने क्रम बढ्दो छ”, बगानकी कर्मचारी इन्दिरा गुरुङले भन्नुभयो, “मजदुर पलायलने समस्याग्रस्त बन्दै गएको चिया बगानमा भएका मजदुरसमेत नआउनाले थप समस्या भएको छ ।” चिया बगानमा भने जति पैसा नपाएपछि मजदुर अन्यत्रै रोजगारीमा जाने गरेको उहाँले बताउनुभयो ।

मजदुर पलायनले अहिले दैनिक कामकाजमा समस्या पर्न थालेको बगान व्यवस्थापन पक्षले जनाएको छ । नेपाल चिया विकास निगमअन्तर्गतका इलाम र झापाका सातवटा चिया बगानमा आधाभन्दा धेरै मजदुरले ज्यालाको कारण देखाउँदै काम छाडेको बगानको विर्तामोडस्थित सम्पर्क कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार इलामको चिसापानीस्थित सोक्तिममा रु १८५, दानाबारीस्थित चिलिमकोटमा रु १९०, कन्याममा रु १९६ र इलाममा रु १७० मात्र ज्याला छ । यस्तै झापाका टोकला, बाह्रदशी र बर्नेमा रु २०१ ज्याला दिने गरिएको छ । कम ज्याला भएपछि कन्याम चिया कारखानामा ४७३ स्थायी मजदुर कार्यरत रहे तापनि अहिले १३४ जना मात्र कार्यरत छन् । आफूहरुले पाउने पारिश्रमिक न्यून भएकाले बढ्दो महँगीस“ग जुध्न नसकेको मजदुरको भनाइ छ ।

“अन्यत्रको काममा भन्दा चियामा काम गर्दा पारिश्रमिक थोरै पाइन्छ”, चिया मजदुर नर्वदा निरौलाले भन्नुभयो, “थोरै रकम भएका कारण धेरै मजदुर काम छाड्न बाध्य छन् ।” सोक्तिममा ४५, चिलिमकोटमा ५७, बर्नेमा ३००, बाह्रदशीमा २२ र टोकला चिया बगानमा ३१० जना मजदुर छन् ।

बगान सञ्चालक पक्षले भने बर्सेनि कारखाना घाटामा गएको जनाउँदै आम्दानीअनुसार मात्र पारिश्रमिक दिन सकिने बताउँदै ज्यालामा धेरै वृद्धि गर्न नसकिने जनाएको छ । रातदिन चिया बगानमा काम गरे पनि चिया बगानबाट भएको कमाइले गुजारा चलाउनै मुस्किल परेको विगत तीन दशकदेखि इलाम चिया बगानमा काम गर्दै आएकी इनपा–९ की फूलमाया लिम्बूले भन्नुभयो ।
चिया बगान स्थापना हु“दादेखि काम गर्ने मजदुर बगानबाट पाएको पारिश्रमिकले खानसमेत राम्रो नपुगेको गुनासो गर्छन् । मजदुरको सङ्ख्या दिनप्रतिदिन घट्दै गएपछि बगानमा झाडी बढ्ने, समयमा चियापत्ती टिप्न नसकिनेजस्ता समस्या देखिएको छ । नेपालकै सबैभन्दा पुरानो चिया बगानको रुपमा रहेको इलाममा अहिले मजदुर अभावले हरियोपत्ती पनि समयमा टिप्न नसकिएको व्यवस्थापन पक्षले जनाएको छ । जिल्लाका ग्रामीण भेगमा समेत चिया खेती गर्दै आएका चिया व्यवसायी मजदुर अभावमा चिया टिप्न समस्या भएको बताउँछन् ।

प्रतिक्रिया