संयमित भएर संविधानसभामा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन

इनेप्लिज २०७२ भदौ ८ गते १६:१४ मा प्रकाशित

Rss_Images_1434276113788_NG-Npj-Prachandaकाठमाडौँ, ८ भदौ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नीति तथा सिद्धान्तलाई केन्द्रबिन्दुमा राखेर संविधानसभामा प्रस्तुत हुन सभासद्लाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले संविधान निर्माण हुन नदिने तत्वले अनावश्यक चलखेल गरेको र परिस्थितिलाई भड्काउन लागेकाले संयमित भएर आफ्नो धारणा राख्न आग्रह गर्नुभएको हो ।

पार्टीले विगतदेखि नै उठाउँदै आएको सबै एजेण्डालाई नयाँ संविधानमा लिपीबद्ध गर्न नसकिए पनि प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नु नै आजको प्रमुख दायित्व भएको उहाँको कथन थियो ।

थारु, आदिवासी, जनजाति, मधेसी, अल्पसङ्ख्यक, महिला र दलितको अधिकारलाई नयाँ संविधानमा स्थापित गर्न पार्टीले हरसम्भव प्रयत्न गरेको भन्दै अध्यक्ष दाहालले जनमत आफूहरुको पक्षमा नभएकाले सम्झौताको संविधान बनाउन बाध्य हुनुपरेको बताउनुभएको थियो ।

सभासद् अमनलाल मोदीले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्न र पार्टीको धारणालाई कडाइका साथ राख्न संसदीय दलका नेता दाहालले सभासद्लाई निर्देशन दिनुभएको जानकारी दिनुभयो ।

यस्तै कैलालीलगायत मुलुकका विभिन्न जिल्लामा देखिएको असन्तुष्टिलाई राजनीतिक तबरले नै सम्बोधन गर्नुपर्ने भन्दै संसदीय दलको बैठकले सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन र अनावश्यक उत्तेजना नफैलाउनसमेत आग्रह गरेको छ ।

सभासद् गणेशमान पुनका अनुसार जायज र तर्कसङ्गत विषयमा संशोधन गर्ने ठाउँ अझै पनि रहेकाले सोहीअनुसार अगाडि बढिने भएकाले पार्टीको सल्लाह र आदेशलाई पनि शिरोपर गर्न बैठकले सभासद्लाई निर्देश गरेको छ ।

बैठकमा बुधबारदेखि सुरु हुने संविधानसभाको बैठकमा खेल्नुपर्ने भूमिकाको विषयमा वरिष्ठ नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले स्पष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया