रेडक्रसद्वारा भूकम्पपीडितलाई घर कर्जा प्रदान

इनेप्लिज २०७२ भदौ ८ गते २:३७ मा प्रकाशित

red_crossखोटाङ, ८ भदौ । नेपाल रेडक्रस सोसाइटी खोटाङले जिल्लाका भूकम्पपीडितलाई आवास व्यवस्थापन गर्न रु १५ लाख घर कर्जा वितरण गरेको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घको सहयोगमा जिल्ला शाखा खोटाङले भूकम्पबाट अतिप्रभावित जिल्लाका १०० घरपरिवार भूकम्पपीडितलाई प्रतिघरपरिवार रु १५ हजार घर कर्जाको साथमा बन्दोबस्तीका सामग्री वितरण गरेको हो ।

गत वैशाख १२ गतेको भूकम्पबाट पूर्णरुपमा घर भत्किएका र पुनः मर्मत गरे पनि बस्न नमिल्ने अवस्था पीडित परिवार छनोट गरेर प्रतिघरपरिवार रु १५ हजारका दरले आवास कर्जा र बन्दोबस्तीका सामग्री वितरण गरिएको जिल्लाका सभापति कुमारसिं बस्नेतले बताउनुभयो । उहाँका अनुसार बाहुनीडाँडाका १८ घर, लामीडाँडाका १२ घर, खार्पाका ११ घर, बडहरेका १० घर, धितुङका १० घर, अर्खौलेका १० घर, नुनथलाका १० घर र डिकुवाका ८ घरपरिवारलाई रकमका साथ प्याकेजका सामग्री प्रदान गरिएको छ ।

रेडक्रसले यसअघि उक्त गाविसका भूकम्पपीडितका लागि सरसफाइ सामग्री प्रदान गरेको थियो । जिल्लाका अन्य ५१२ घरपरिवार भूकम्पपीडितलाई एक÷एक थान पाल वितरण गरिएको रेडक्रसले जनाएको छ ।

प्रतिक्रिया