अमेरिकामा नासा र आन्मा सम्मेलनको तयारी पूरा

इनेप्लिज २०७२ भदौ ४ गते ९:४७ मा प्रकाशित

2
नर्थ क्यारोलिना । संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरूका दुई बृहद संगठनको संयुक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।
अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका प्रतिनिधिमूलक र सशक्त संगठन नेप्लिज एशोसियसन अफ साउथ इष्ट अमेरिका (नासा) र मध्य पश्चिमी राज्यहरूमा बस्ने नेपालीहरूको बृहद र छाता संगठन एशोसियसन अफ नेप्लिज इन मिडिल वेष्ट अमेरिका (एन्मा) को संयुक्त एघारौं सम्मेलन आउँदो सेप्टेम्बर ४, ५ र ६ मा नर्थ क्यारोलिना राज्यको ग्रिन्सबोरो र हाइप्वाइन्ट सहरको होटल
एम्बेसी स्विटमा भब्य रूपमा हुँदैछ । सोही होटलमा हालै सम्पन्न सम्मेलनको पूर्ण तयारी बैठकपछि सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो ।

1
विगत लामो समयदेखि हरेक वर्ष हुँदै आएको यो सम्मेलन यस पटक नेपालको भूकम्पपीडित क्षेत्रमा पुनर्निर्माणमा सहयोग संकलनको मुख्य उद्धेश्यका साथ हुन लागेको मूल आयोजक समितिले जनाएको छ । करिव १५ वटा राज्यमा बस्ने नेपालीहरू सहभागी हुने सम्मेलनमा विभिन्न प्रतियोगितात्मक खेलकुदका साथै फेसन, सांस्कृतिक प्रस्तुती, कन्सर्ट, स्वास्थ्य, शिक्षा, साहित्यलगायत नेपालसम्बन्धी
विशेष कार्यक्रमहरू हुने भएका छन् । बालशिक्षा तथा खेलकुद, युवा, महिला, कानुनी, समाज तथा कल्याण, सञ्चारलगायतका विषय र क्षेत्रका लागि यो सम्मेलन उपयोगी हुने बताइएको छ । सम्मेलनमा नेपालका ख्यातिप्राप्त र चर्चित कलाकारहरूको उपस्थितिमा विशेष सांगीतिक सन्ध्या हुने भएको छ । जसबाट उठेको रकम राष्ट्र पुनर्निर्माणका लागि सहयोग गरिने भएको छ ।
बैठकमा विभिन्न समितिका संयोजकहरूले आ–आफ्ना समितिका प्रगति विवरण प्रस्तुत गरेका थिए । बैठकमा जानकारी गराइएअनुसार हालसम्म झन्डै चार सय जनाको नाम दर्ता भइसकेको छ भने होटलका दुई सय ४० वटा कोठा बूक भइसकेका छन् । बैठकमा नासाका अध्यक्ष डा.रामचन्द्र बरालले यो सम्मेलन यस क्षेत्रमा रहेका नेपालीहरूका समस्या र चुनौती पहिचान गरी समाधानका लागि स्पस्ट मार्ग निर्देश गर्न
सहयोग पुर्याउने बताउनुभयो ।

3एन्माका अध्यक्ष सुशील शर्माले छरिएर रहेका विभिन्न पेशाकर्मी नेपालीहरूबीच भेटघाट, अन्तरक्र्रिया, अनुभव साटासाट र आपसमा मनोरञ्जन हुनुमात्रै पनि एक उपलब्धी ठहरिने धारणा ब्यक्त गर्नुभयो । बैठकमा प्रमुख आयोजक हाइ प्वाइन्ट र ग्रिन्सबोरोस्थित नेपालीहरूको एकमात्र प्रतिनिनिमूलक संस्था ट्रायड नेप्लिज कम्युनिटी सेन्टर (टीएनसीसी) का अध्यक्ष नारायण खड्काले सबै
राज्यमा बस्ने नेपालीहरूको उत्सहाजनक उपस्थिति हुने विश्वास ब्यक्त गर्दै सम्मेलन थप ऐतिहासिक र प्रभावकारी बनाउन सहयोगका लागि सबैसँग आग्रह गर्नुभयो ।

4बैठकमा सहभागी अमेरिका–नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपसभापति एवं नर्थ क्यारोलिनास्थित नेपाली ब्यवसायी सानुबाबु सिलवालले अमेरिकामा आँट, जाँगर र सीप भएर पनि आर्थिक सवलता नभएका नेपालीहरू थुप्रै रहेको भन्दै नेपालीहरूलाई आर्थिक रूपमा समृद्ध बनाउने दिशामा यस्ता सम्मेलन उपयोगी र प्रभावकारी हुनुपर्ने बताउनुभयो । सिलवालले सम्मेलनमा सहभागी हुन आउने परिवारका
सदस्यहरूलाई दर्ता शुल्कमा उचित छुटको ब्यवस्थाका साथै उपयोगी कार्यक्रमहरू सञ्चालन गरी सम्मेलनलाई आकर्षक र प्रभावकारी बनाउन सुझाव पनि दिनुभयो ।

5त्यसैगरी एन्माका पूर्व अध्यक्ष राजेन्द्र खतिवडाले विगतका अनुभव सुनाउँदै विविध कमी कमजोरीलाई सच्याउँदै र राम्रा कामलाई दोहोर्याउँदै अघि बढ्न सुझाव दिनुभयो । नासाका कार्यकारी अध्यक्ष विमल नेपालले उत्साहजनक उपस्थिति हुने यो सम्मेलनमा कमी कमजोरी हुन नदिने प्रतिवद्धता जनाउँदै भब्यताका साथ सफल पार्न सबैको भूमिका गहन हुने बताउनुभयो । यो सम्मेलनको सफलताले
नेपालको पुनर्निर्माणमा पनि सहयोग पुग्ने उहाँको भनाइ थियो ।
त्यसैगरी सञ्चार तथा जनसम्पर्क समितिका संयोजक शिव बिष्टले सम्मेलन सफल पार्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै अधिकांश प्रकाशन–प्रसारण संस्थाहरू हातेमालो गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले सम्पूर्ण सञ्चारकर्मीहरूलाई सम्मेलनमा उपस्थित भई समाचार सम्प्रेषण गर्न पनि आग्रह गर्नुभयो ।
यसैबीच सम्मेलनमा सांस्कृतिक प्रस्तुतीका लागि नेपालबाट चर्चित कलाकारहरू आउने भएका छन् । चर्चित गायक रामकृष्ण ढकाल, चर्चित गायिका आस्था राउत, नायिकाद्वय केकी अधिकारी र रीमा विश्वकर्माका साथै अरुण कार्कीको समेत प्रस्तुती रहने सांगीतिक कन्सर्टका संयोजक विशाल भारतीले जानकारी दिनुभयो । त्यसैगरी विभिन्न राज्यहरूबाट आएका सहभागीहरूले पनि नेपाली कला र
संस्कृतिसम्बन्धी प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।
अतिथि सत्कार समितिका संयोजक ठाकुर कार्की र सहसंयोजक शैलेन्द्र बज्राचार्यका अनुसार, सम्मेलनमा सहभागी हुन आउने सम्पूर्ण पाहुना, पत्रकार तथा सदस्यहरूको सहजताका लागि बेग्लाबेग्लै दर्ता तथा स्वागत कार्यक्रम तय गरिएको छ । त्यसैगरी फेसन शोका संयोजक विभोर रिजालले यस पटकको सम्मेलनमा युगल जोडीलाई प्रस्तुत गरिने जानकारी दिनुभयो । त्यसैगरी खेलकुद समितिका संयोजक रितेश
पौडेलले भलिबल तथा सकर प्रतियोगितामा विजयी हुने टोलीलाई ‘नासा–एन्मा रनिङ्ग  गोल्ड कप’ प्रदान गरिने जानकारी दिनुभयो । खाध्य ब्यवस्था समितिका संयोजक रोशन श्रेष्ठले सहभागी सबैलाई पूर्ण सन्तुष्टिका साथ भोजनको ब्यवस्था गरिने प्रतिवद्धता जनाउनुभयो । सम्मेलन आयोजक मूल समितिका संयोजक माधव ढकालको अध्यक्षतामा बसेको बैठकको सञ्चालन मूल समितिका महासचिव प्रसिम पौडेलले
गर्नुभएको थियो ।
अमेरिकामा रहेका नेपालीहरूका विभिन्न संगठनहरूमध्ये नासा र आन्माको संयुक्त कार्यक्रमलाई निकै पृथक र ब्यवस्थित मानिँदै आएको छ । निकै ब्यवस्थित, प्रभावकारी र विवादरहित रूपमा हुँदै आएको नासा र आन्माको संयुक्त सम्मेलन यस वर्ष पनि ऐतिहासकि हुने आयोजकको दाबी छ ।
यसअघि नासा र आन्माको छैठौं सम्मेलन सन् २०१० मा केन्टकीमा, सातौं सम्मेलन सन् २०११ मा जर्जियामा, आठौं सम्मेलन सन् २०१२ मा इन्डियानामा, नवौं सम्मेलन सन् २०१३ मा साउथ क्यारोलिनामा र दसौं सम्मेलन २०१४ मा कोलोराडोमा सम्पन्न भएको थियो ।
टीएनसीसीको अपील
यसैबीच नर्थ क्यारोलिनाको हाइ प्वाइन्ट र ग्रिन्सबोरोस्थित नेपालीहरूको प्रतिनिनिमूलक संस्था ट्रायड नेप्लिज कम्युनिटी सेन्टर (टीएनसीसी) ले नेपाली कला र संस्कृति संरक्षण र प्रवर्दन गर्ने उद्धेश्यका साथ हाइप्वाइन्टमा ‘नेपाल हेरिटेज सेन्टर’ निर्माण गर्ने भएको छ ।
हेरिटेज सेन्टरका लागि गुरुयोजना तयार भइसको संस्थाले जनाएको छ । संस्थाले नेपाली बालबालिकाका लागि खेल मैदान, खेल सामग्री र नेपाली भाषाका कक्षाका लागि उपयुक्त पूर्वाधारका साथै युवायुवतीका लागि खेलकुद तथा पार्क निर्माण एवं सीपमूलक तालिम कक्ष पनि निर्माण गर्ने भएको छ । त्यसैगरी बृद्ध–बृद्धाका लागि भविष्यमा आश्रमस्थल पनि निर्माण गर्ने योजना रहेको संस्थाले जनाएको
छ । त्यस्तै, विवाह, ब्रतवन्धलगायतका धार्मिक तथा सामाजिक कार्य आयोजना गर्न मठ–मन्दिर एवं कार्यक्रम हल पनि निर्माण गरिने भएको छ ।
टीएनसीसीले नासा–एन्मा सम्मेलनका क्रममा राफल चिठ्ठा कार्यक्रम आयोजना गर्ने र त्यसबाट संकलित रकम पनि निर्माण कार्यमा लगाइने भएको छ । संस्थाका पूर्व अध्यक्ष एवं अर्थ समितिका अध्यक्ष वसन्त खड्काले यतिले मात्र योजना सफल नहुने भन्दै यस्तो पवित्र कार्यमा आर्थिक सहयोगका लागि अमेरिकामा रहेका सम्पूर्ण संघसंस्था तथा चन्दादाताहरूलाई आग्रह गर्नुभयो । संस्थाका अध्यक्ष
नारायण खड्काले पनि विदेशमा नेपाली कला र संस्कृति संरक्षणमा आफूहरू सधै तल्लीन रहेको भन्दै सहयोगका लागि सबैसँग आग्रह गर्नुभयो ।

सहयोगका लागि धन्यवाद  सहित ,

शिव विष्ट
संयोजक , सूचना तथा जनसम्पर्क  समिति
सह संयोजक ,साँस्कृतिक समिति
नासा/ अन्मा एघारौ संयुक्त सम्मेलन -२०१५

 

प्रतिक्रिया