जनकपुरधाम, ४ साउन । सूचनाको हक जारी भए पनि यसको उच्चतम अभ्यास हुन नसकेकामा चिन्ता व्यक्त गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र आरटिआई धनुषाद्वारा राष्ट्रिय सूचना दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीले सूचनाको हक नागरिकलाई शक्तिशाली बनाउने औजार भएको धारणा राखेका छन् ।
सहभागीले विभिन्न निकायले मागेको सूचना नदिने, सूचना दिए पनि अपुरो दिने र सूचना लुकाउने जस्ता प्रवृत्ति देखिएको बताएका छन् ।
कार्यक्रममा आरटिआई धनुषाका अध्यक्ष शैलेन्द्र झाले सूचना लुकाउने प्रवृत्तिले गर्दा सूचनाको हक खुम्चिने अवस्था सिर्जना भएको बताउनुभयो । त्यस्तै सदस्य अजयकुमार साहले कार्यपत्र प्रस्तुत गर्दै सूचनाको हक, नागरिक चासो, सक्रियता र सजगतामा सुरक्षित रहन सक्छ भन्ने धारणा राख्नुभयो ।
प्रमुख जिल्ला आधिकारी कालीप्रसाद पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा सञ्चारकर्मी अजयकुमार झा र राजनकुमार सिंहले सूचनाको हक नागरिकको मौलिक हक भएकाले राज्यले सूचना माग्ने, प्राप्त गर्ने र प्रवाह गर्ने हकलाई सुरक्षित राख्नु जरुरी भएको बताउनुभयो ।
प्रतिक्रिया