सुरक्षा दिई सवारी सञ्चालनमा

इनेप्लिज २०७२ भदौ ३ गते १४:१४ मा प्रकाशित

कावासोती, ३ भदौ । पूर्वपश्चिम राजमार्गमा प्रहरीले सुरक्षा दिई सवारी साधन सञ्चालनमा ल्याएको छ ।

थारु कल्याणकारिणी सभा र संयुक्त मधेसी मोर्चाले गरेको बन्दमा आज प्रहरीले गन्तव्यमा हिँडेका सवारी साधनलाई सुरक्षा दिएर पठाएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

एघार दिनदेखि सदरमुकाम परासी क्षेत्रमा बन्दले गर्दा पठनपाठन भएको छैन । सरकारी कार्यालयमा समेत सेवाग्राही शून्य छन् । सुनवलदेखि गैंडाकोटसम्म अवरोध भएका ठाउँमा प्रहरीले सुरक्षा दिएर यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

दाउन्ने पश्चिमको परासीमा बन्दको प्रभाव छ । राजमार्ग र छेउछाउका पसल खुलेका छन् । बर्दघाट –सुनवल खण्डमा प्रहरीले विशेष निगरानी राखी याताायात सञ्चालनमा ल्याएको छ । दाउन्ने पूर्व चोरमारा, डन्डा, रजहर र भेडाबारीमा थारु कल्याणकारीसभाका समर्थक भेला भएर बसेका छन् ।

कावासोती क्षेत्रमा बिहान स्वस्फुर्त रुपमा युवाले बजार खुलाएका छन् । बन्दको मारमा व्यवसाय परेको जनाई उनीहरुले कावासोतीको फलफूल चोकदेखि डन्डासम्म मोटरसाइकल यात्रा गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया