शुक्रबार, असार ११ २०७८
काठमाडौं ०८:५८
वासिङटन डिसी 23:13

यो अन्तिम लेनदेन होइन: प्रम कोइराला

इनेप्लिज २०७२ भदौ २ गते १५:०९ मा प्रकाशित

PM Briefs on ICNRकाठमाडौँ, २ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानका लागि यो नै अन्तिम लेनदेन नभएको बताउनुभएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेशहरूको रेखाङ्कनका सम्बन्धमा ज्ञापनपत्र बुझाउन आएको सर्लाहीको सर्वदलीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री कोइरालाले भन्नुभयो – “यो अन्तिम लेनदेन होइन, त्यहाँ जे लेखिएको छ, त्यही अन्तिम होइन । सुधार गरेर जाने अवसर हुन्छ । नयाँ संविधान जारी भएपछि यसमा संशोधन हुँदै जान्छ ।”

प्रधानमन्त्री कोइरालाले वर्तमान संविधानले सबैको भावना समेट्ने बताउँदै भन्नुभयो – “यसमा तपाइँ वा मैले भनेको मात्रै आउन सम्भव छैन । कसैका पनि सबै माग पूरा हुँदैनन् । सबैले केही छोड्नै पर्दछ । पत्थरको लकिर पनि त हैन नि ।” उहाँले जनताले उठाएका विषयमा छलफल भइरहेको र संविधानसभामा जाँदासम्म कतिपय विषय समेटिने कुरा जनतालाई सम्झाउन पनि सबै प्रजातन्त्रवादीलाई आग्रह गर्नुभयो ।

सबै नेपालीले मिलेर ल्याएका परिवर्तनका उपलब्धिलाई मिलेर नै जोगाउँदै संस्थागत गर्न आग्रह गर्दै प्रधानमन्त्री कोइरालाले जनताले पाइसकेको अधिकारबाट कोही पनि पछि फर्कन नसक्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री कोइरालाले प्रदेशको रेखाङ्कनबिनाको संविधान जारी भए समस्या आउने सम्भावना देखेर रेखाङ्कन र सीमाङ्कनको कुरा उठाएको बताउनुभयो । मुलुकका ठाउँ ठाउँमा देखिएका असन्तुष्टिलाई औँल्याउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो – “अराजकता हुन नदिऔँ, हिमाल, पहाड, मधेस जहाँ बसेको भएपनि नेपाल बचाऔँ । यो हाम्रा लागि अन्तिम अवसर हो ।”

नेपाली जनताले लोकतन्त्रको स्थापना र विकासका लागि गरेको झण्डै एक शताब्दी लामो सङ्घर्षबाट हासिल भएका उपलब्धिलाई संस्थागत गर्न संविधान ल्याउनै पर्ने उहाँको भनाइ थियो ।

कायातलाई आदिवासी अल्पसङ्ख्यकमा राख्न माग

आजै बिहान प्रधानमन्त्री कोइरालासँग बाग्लुङको ढोरपाटन क्षेत्रमा बसोवास गर्ने कायात जातिको एक प्रतिनिधि मण्डलले उहाँको निवास बालुवाटारमा भेट गरी सो जातिलाई आदिवासी अल्पसङ्ख्यकमा सूचीकृत गर्न माग गर्‍यो ।

प्रतिनिधि मण्डलका अनुसार ढोरपाटन र बोबाङ् क्षेत्रमा सो जातिका ६० घरधुरी रहेका छन् ।

प्रतिक्रिया