शुक्रबार, असार ११ २०७८
काठमाडौं १६:०४
वासिङटन डिसी 06:19

पाँच विकास क्षेत्रमा जाने भन्ने कुरा हास्यास्पदः नेता भट्टराई

इनेप्लिज २०७२ भदौ २ गते १४:५५ मा प्रकाशित

pm_baburam-bhattaraiकाठमाडौँ, २ भदौ । एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईले पाँच विकास क्षेत्रलाई नै सङ्घीयताको सीमाङ्कन मान्ने भन्ने कुरा हास्यास्पद भएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा, कोटेश्वरमा आयोजित २२ औं रामवृक्ष यादव स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “सङ्घीयतामा नेपाल देशबाहेक सबै खण्डित भएका छन् ।” जनताका माग जायज भएपनि त्यसलाई भड्काएर संविधान जारी हुन नदिने र प्रतिगमन फर्काउने प्रयत्न भइरहेको उहाँको कथन थियो ।

उहाँले नेपाली इतिहासमा जनताको सबैभन्दा ठूलो आन्दोलनको नेतृत्व गर्ने एमाओवादी पार्टीले अहिलेको आन्दोलनको पनि सम्मान गर्ने बताउनुभयो । नेता भट्टराईले विगतको संविधानसभाबाट संविधान जारी गर्न नसक्नु गल्ती भएको बताउँदै ‘बढी लिन खोज्दा पोल्टाको पनि गुमेको’ धारणा राख्नु भयो । उहाँले भन्नुभयो, “त्यसकारण संविधानसभाबाट संविधान जारी गर्न अब ढिलाइ गर्नुहुन्न ।”

डा भट्टराईले मधेसमा जनयुद्धको आधार तयार गर्ने स्व यादवको भूमिका अतुलनीय भएको चर्चा गर्नु भयो ।

कार्यक्रममा नेता रामचन्द झाले मस्यौदा संविधानमा प्रदेश नं २ लाई पहिचान र सामथ्र्य कै आधारमा छुट्याइएको बताउँदै कुनै पनि राज्य पूर्ण रुपमा साधन र स्रोत सम्पन्न नहुने बताउनुभयो ।

उहाँले ६ प्रदेशको सीमाङ्कन सही भएको बताउनुहुँदै माओवादी सङ्घीयता, समावेशी÷समानुपातिक, धर्मनिरपेक्षता र गणतन्त्रको सुत्रधार भएकाले ती विषयहरु कुनै पनि हालतमा छोड्नु नहुने धारणा राख्नु भयो ।

कार्यक्रममा एमाओवादीका महासचिव कृष्णबहादुर महरा, सचिव वर्षमान पुन, प्रवक्ता दीनानाथ शर्मालगायत नेताको उपस्थिति थियो ।

प्रतिक्रिया