प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

इनेप्लिज २०७२ भदौ २ गते १४:४७ मा प्रकाशित

popupकाठमाडौँ, २ भदौ । भूकम्पपीडितको राहत र पुनःस्थापना कार्यमा सघाउन फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड र नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी सङ्घले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गरेका छन् ।

फरवार्ड माइक्रो फाइनान्सले दियो १० लाख

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा फरवार्ड कम्युनिटी माइक्रो फाइनान्सका कार्यकारी अध्यक्ष भगवती चौधरीले रु १० लाखको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले सहयोग रकमको उपयोगको निगरानी गर्न आग्रह गर्नुभएको थियो ।

“अहिले दुनियाँले नेपाललाई हेरिरहेको छ,” प्रधानमन्त्री कोइरालाले भन्नुभयो – “ सहयोग रकम दुरुपयोग नहोस् भन्नेमा सरकार सचेत छ । तपाइँहरुले पनि निगरानी गर्नुपर्दछ ।”

सरकारले मुलुकमा सुशासन कायम गर्न पारदर्शीता, जवाफदेहिता, मितव्ययिता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अबलम्बन गरेको पनि उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो – “बदमासी गर्नेलाई कडा भन्दा कडा कारबाही गर्नुपर्दछ ।”

सहयोग रकम हस्तान्तरण कार्यक्रममा संस्थाको सञ्चालक समितिका सदस्यहरु आशुतोष शर्मा, केशव पौडेल, हरिनारायण चौधरी, सविता दहाल, अन्नपूर्णा श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरी सहभागी हुनुहुन्थ्यो ।

पूर्व कर्मचारीको सात लाख २२ हजार सहयोग

आजै नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त कर्मचारीहरुको संस्था नेपाल राष्ट्र बैक पूर्व कर्मचारी सङ्घले उद्धार कोषमा रु सात लाख २२ हजार ५४५ प्रदान गरेको छ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष भोलाराम थापाले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा सङ्घका माधवप्रसाद भट्ट, डा रेवतबहादुर कार्की, रीता पन्त, श्यामबहादुर श्रेष्ठ, किशोरी थापा र गौरीशङ्कर श्रेष्ठको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया