शुक्रबार, असार १७ २०७९
काठमाडौं ०१:३२
वासिङटन डिसी 15:47

‘हाम्रो किल्ला सिन्धुली जिल्ला’ प्रदेश नम्बर ३ मै कायम हुनुपर्छ…

इनेप्लिज २०७२ भदौ २ गते ५:०४ मा प्रकाशित

Rss_Images_1439958696712_NN_KTM_Sabhashadharuकाठमाडौँ, २ भदौ । सिन्धुलीबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरुले प्रमुख चार राजनीतिक दलले गरिसकेको सङ्घीय प्रदेशको सीमा निर्धारणलाई अब यताउता गरिए आफूहरुलाई मान्य नहुने चेतावनी दिनुभएको छ ।

समृद्ध सिन्धुली अभियानले आज बिहान काठमाडौँको मीनभवनमा गरेको सडक कार्यक्रममा उहाँहरुले भाषा, संस्कृति र भूगोलको हिसाबले समेत सिन्धुली जिल्ला प्रदेश नम्बर ३ मै कायम रहनुपर्नेमा जोड दिनुभयो ।

चार प्रमुख दलका शीर्षनेताले प्रदेशको सीमा निर्धारणसम्बन्धी गरेको निर्णयलाई पहिलो स्वागत गर्ने सिन्धुलीलाई पछिल्लो समय फेरि यताउता गाभ्ने कुरा चलाइएको प्रति आपत्ति जनाउँदै सांसदहरुले जिल्लालाई विभाजित हुन नदिने तथा कुनै हालतमा प्रदेश नम्बर २ मा जाँदै नजाने जिकिर गर्नुभयो ।

नेवार, तामाङ, सुनुवार, मगर, बाहुन क्षेत्रीको बाहुल्य रहेको जिल्ला सिन्धुलीलाई फेरि पनि चलाउन खोज्नु भनेको नेताहरु एउटा निर्णयमा अडिक रहन सक्दैनन् भन्ने सन्देश प्रवाह हुने भएकाले त्यसलाई बुझेर काम गर्न सांसदहरुले राजनीतिक दलका शीर्ष नेतृत्वलाई सुझाव दिनुभएको छ ।

उहाँहरुले भन्नुभयो–“निर्धारण गरिसकेको सीमालाई यताउता गर्न खोज्दा सङ्घीयता विरोधीलाई सहयोग पुग्न सक्दछ, भौगोलिक अवस्था, उपलब्ध स्रोतसाधनको हिसावले पनि सिन्धुलीलाई अब गिजोल्ने काम गर्नु हँुदैन ।”

जिल्लाबाट सविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्सँग छलफल नै नगरी जिल्लाको विषयमा निर्णय गर्ने कसैलाई पनि अब अधिकार नहुने जनाउँदै सभासद्हरुले सिन्धुलीलाई मधेस विरोधीका रुपमा प्रस्तुत गर्न खोजिएको प्रति पनि रोष व्यक्त गर्नुभयो ।

सो अवसरमा सांसदहरु गणेश पहाडी, मोहन बराल, हरिबोल गजुरेल, पूर्वसांसद लीलामणि पोखरेल, विपिन कोइरालालगायतले सामथ्र्य र पहिचानका हिसाबले सिन्धुली प्रदेश नम्बर ३ मै रहनुपर्ने तर्क प्रस्तुत गर्नुभएको थियो ।

‘हाम्रो किल्ला सिन्धुली जिल्ला’ नाराका साथ सुरु गरिएको उक्त कार्यक्रमलाई सिन्धुलीस्थित सबै राजनीतिक दलका नेता, पूर्वसभासद् एवम् सांसदहरु, नागरिक समाज, बुद्धिजीवी, पत्रकारलगायत विभिन्न पेसा–व्यवसायसँग सम्बद्ध नागरिकले सहभागी भई सहयोग र समर्थन जनाएका थिए ।

प्रतिक्रिया