महिला जुटे मदिरा नियन्त्रणमा

इनेप्लिज २०७२ भदौ २ गते १:३५ मा प्रकाशित

फलेवास (पर्वत), २ भदौ । पर्वतको खानीगाउँ गाविसका महिलाले मदिरा नियन्त्रण अभियान सुरु गरेको छ । अनियन्त्रित रुपमा मदिरा बेचबिखन गर्ने तथा सेवन गर्दा महिला हिंसादेखि सामाजिक विकृतिसमेत बढेको भन्दै खानीगाउँ महिला सञ्जालले मदिरा नियन्त्रण अभियान सुरु गरेको हो ।

भदौ १ गतेदेखि कुनै पनि व्यापारी तथा मदिरा उत्पादकले दैनिक रुपमा साँझ ५ देखि ७ः३० बजेसम्म मात्र किनबेच गर्न पाउने र तोकिएको समयभन्दा अन्य समयमा सेवन र किनबेच गरेमा दण्डजरिवाना गर्ने व्यवस्था गरिएको सञ्जालकी अध्यक्ष केशाकुमारी परियारले बताउनुभयो । सो अनुसार पहिलो चरणमा सम्झाई–बुझाई गरिने, दोस्रो चरणमा सय रुपैयाँ र तेस्रो चरणमा ५०० रुपैयाँ जरिवानास्वरुप लिइने छ ।

“पटकपटकको प्रयास पनि अटेर गर्नेलाई कारबाहीका लागि प्रहरीमा बुझाउने छौँ”– उहाँले भन्नुभयो । मदिरा सेवनकै कारण समाजमा विभिन्नखाले हिंसात्मक घटना वृद्धि हँुदै जान थालेकोे र मदिरा सेवनपछि घरमा पारिवारिक झगडाको कारण बालबालिकाको शिक्षामा प्रभाव पार्ने, आर्थिक नोक्सानीका साथै सामाजिक विभेदसमेत मदिरा सेवनको कारणले हुने भएकाले त्यसलाई रोक्न अभियान सफल हुने अध्यक्ष परियारको विश्वास छ ।

गाउँमा पुरुष मात्रै नभएर महिलाले पनि मदिरा सेवन गर्ने गरेको कारण पुरुष महिला दुबै झगडा गर्ने समस्याले पारिवारिक संस्कार बिग्रँदै गएको सञ्जालकी सचिव सावित्री सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया