आगजनी तथा तोडफोड

इनेप्लिज २०७२ साउन ३२ गते १५:१८ मा प्रकाशित

busकाठमाडौँ, ३२ साउन । नेकपा–माओवादीलगायत ३३ राजनीतिक दलले संविधान मस्यौदाका विभिन्न विषयको विरोधमा आह्वान गरेको नेपाल बन्दको दोस्रो दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा सवारीसाधनमा आगजनी तथा तोडफोड भएको छ ।

देशका विभिन्न ठाउँमा सवारीसाधन तोडफोडलगायत हिंसात्मक गतिविधि गर्ने ८२ बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट ७२, ललितपुरबाट आठ, मकवानपुरबाट एक र ताप्लेजुङ सदरमुकाम बजारमा बन्द गराउँदै हिँड्ने एक बन्दकर्तालाई नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

काठमाडौँ: बन्दकर्ताले कामपा–१३ स्थित कालिमाटी टङ्केश्वर नीलबाराही स्कुल नजिक पार्किङ गरिराखिएको बिआर ०६ ३९८० नं को बलेरो गाडीको अगाडिको सिसा फोडी पेट्रोल छर्की आगजनी गरेका तथा चाबहिलस्थित मेडिकेयर अस्पताल अगाडि बा१ख ९२५३ नं को बसको सिसा तोडफोड गरेका छन् ।

यसैगरी बन्दकर्ताले कालोपुलमा बा१ज ५०८९ नं को पार्किङ गरिराखिएको ट्याक्सीमा आगजनी गरे भने द्वारिका होटलअगाडि बा१ह ३७३० नं को टेम्पोमा आगजनी प्रयास गरेकामा प्रहरीले सो प्रयास विफल पारेको थियो ।

ललितपुर: बन्दकर्ताले ललितपुरस्थित बिएन्डबी अस्पतालअगाडि बा२ख ६३३७ नं को बसको अगाडिको सिसा तोडफोड गरेका छन् ।

मकवानपुर: हेटौँडा उपमहानगरपालिका–१० बुद्धचोकमा बन्दकर्ताले ना १४प.६७३२ नंको मोटरसाइकलको हेडलाइट फुटाएका छन् । प्रहरीले उपमहानगरपालिका–२० बस्ने १७ वर्षीय सरोज गजुरेललाई नियन्त्रणमा लिएको थियो ।

मोरङ: विराटनगर उपमहानगरपालिका­१८ रोड शेषचोक भित्री बाटामा बन्दकर्ताले स १ प ७४९८ नं को मोटरसाइकलको अगाडि र पछाडिको भाइजर फुटाएका छन् । नेपाल प्रहरीले बन्दका क्रममा कुनै अप्रिय घटना हुन नदिन देशभर व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेको थियो ।

सरकारी सूचनापाटी हटाइए
प्रादेशिक सीमाङ्कनका विषयमा गरिएको बन्दका क्रममा जुम्लामा बन्दकर्ताले कुडारी­१ कुडारी बजारमा रहेका स्वास्थ्य, गाविस र प्रहरीचौकी कुडारीको बाहिर राखेको पुरानो सूचनापाटी झिकेर आगो लगाएका छन् । प्रहरीले तत्कालै त्यसमा लगाइएको आगो निभाएको थियो ।

यसैगरी चन्दननाथ–१ स्थित कृषि बागबानी केन्द्रमा भएको आगलागी नियन्त्रण गर्न गएको प्रहरी टोलीलाई बन्दकर्ताले अवरोध गरेका छन् ।

यस्तै मुगुको श्रीनगर बजारमा निकालिएको पदयात्राले सदरमुकामस्थित विभिन्न सरकारी कार्यालयका सूचनापाटी निकाली सङ्घीय कर्णाली प्रदेश लेखिएको तुल राखिदिएका छन् । उनीहरुले जिविस, कृषि, वन, शिक्षा, मालपोत र नापी कार्यालयका सूचनापाटी र विज्ञापनपाटी निकालेको समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया