साकोस एकरुपता प्रणाली घोषणा
काठमाडौँ, ३२ साउन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)ले सहकारीको एकरुपताका लागि साकोस एकरुपता प्रणाली घोष्णा गरेको छ ।
संस्थाको २८औँ स्थापना दिवसका अवसरमा बचत तथा ऋण सहकारी (साकोस)हरुको सुशासन र आर्थिक अनुशासनका लागि साकोस एकरुपता प्रणाली घोषणा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले जानकारी गराउनुभयो ।
नीतिगत केन्द्रीयता र सञ्चालन स्वायत्तताको अवधारणामा नीति, विधि, प्रविधि र शैलीमा मुलुकभर एउटै स्वरुपमा सञ्चालन गर्ने, लेखा तालिका र ढाँचा, सूचनापाटी, रङ र लेटरप्याड आदिबाट एकीकृत साकोस प्रणाली लागू गर्ने तयारी गरिएको संस्थाले जनाएको छ ।
यस्तै नेफ्स्कुन सम्मान तथा पुरस्कार छनोट समितिका संयोजक तथा नेफ्स्कुनका निवर्तमान अध्यक्ष मीनराज कँडेलका अनुसार यस वर्ष किसान बचत तथा ऋण सहकारी संस्था गैँडाकोट मुलुककै सर्वोत्कृष्ट सहकारीका रुपमा छनोट भएको छ ।
महिलातर्फ मकवानपुरको महिला जनचेतना साकोस चुरियामाई मुलुककै महिलाबाट सञ्चालित उत्कृष्ट सहकारी संस्थाका रुपमा सम्मानित हुने भएको छ । जिल्ला सङ्घमा चितवन जिल्ला बचत तथा ऋण सहकारी सङ्घ सर्वोत्कृष्ट सङ्घ घोषणा भएको छ ।
पूर्वाञ्चलतर्फ हाम्रो साकोस उर्लाबारी, मध्यमाञ्चलतर्फ स्रोत परिचालन धादिङ, पश्चिमाञ्चलतर्फ गैँडाकोट, मध्यपश्चिमतर्फ विश्वासिलो बर्दिया र सुदूरपश्चिमतर्फ जनज्योति कञ्चनपुरलाई विकास क्षेत्रस्तरीय उत्कृष्ट सहकारी संस्थाका रुपमा सम्मान गरिने भएको कँडेलले जानकारी गराउनुभयो ।
यस वर्षको संस्थापक अध्यक्ष पुरस्कार दोलखाका केशव कार्की र मोरङका पार्वती बराललाई सम्मान दिइने भएको छ । नेफ्स्कुन सम्मान मकवानपुरका मेनका दाहाल र काठमाडौँका देवेन्द्र अर्याललाई प्रदान गरिने घोषणा गरिएको छ । त्यस्तै नेफ्स्कुन विद्वता पुरस्कार रुपन्देहीका डा खगराज शर्मालाई दिइने छ । शर्माले सहकारीमार्फत गरिबी निवारणमा विद्यावारिधि गर्नुभएको हो ।
नेफ्स्कुन राइफाइसन क्रेडिट युनियन पुरस्कार आइरिस लिग अफ क्रेडिट युनियन आयरल्यान्डलाई दिइने भएको छ । साकोस अभियानका उत्कृष्ट व्यवस्थापकका रुपमा बुडोल काभ्रेपलाञ्चोकका विवेकराज ठकुरी र नेफ्स्कुनका उत्कृष्ट कर्मचारीका रुपमा थलप्रसाद चौलागार्इं, नेकोस प्लस सफ्टवेयरतर्फ ज्योति मिर्मिरे सामूहिक साकोस पनौती, अन्तर लगानीतर्फ लालीगुराँस मोरङ, सहकारी सदस्य सुरक्षा योजनातर्फ सहयोगी साकोस सुनसरी र लघुवित्त कार्यक्रमतर्फ सप्तकोसी साकोस सम्मानित हुने सापकोटाले जानकारी गराउनुभयो । उक्त सम्मान तथा पुरस्कार संस्थाको वार्षिक साधारणसभाका अवसरमा प्रदान गरिने जनाइएको छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष एवम् सभासद् केशवप्रसाद बडालले मुलुकको बचत तथा ऋण सहकारी क्षेत्रको प्रभाव र गरिमा व्यापक रहेको बताउँदै यसको सुशासन र नियमनका लागि नेफ्स्कुनले क्रियाशीलता र भूमिका बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
“राम्रो काम गर्ने सहकारीलाई सम्मान र बदमासी गर्नेलाई दण्डित गर्ने गरी सहकारी अध्यादेश प्रस्तुत भएको छ”, उहाँले भन्नुभयो, “अभियानको मागबमोजिम तत्काल सरकारले ऐन ल्याउनुपर्छ, सहकारीले उत्पादन र सेवाका सबै क्षेत्रमा प्रवेश गर्न चाहिरहेका कारण विद्यमान कानुनी समस्यालाई तत्काल समाधान गर्न आवश्यक छ ।”
नेपाल स्वास्थ्य सेवा केन्द्रीय सहकारी सङ्घका अध्यक्ष एवम् सभासद् राजेन्द्रप्रसाद पाण्डेले सहकारी सुशासन र वित्तीय अनुशासनका लागि छुट्टै कानुन बनाउने कार्यमा सहयोग गरिने बताउनुभयो ।
नेफ्स्कुनका अध्यक्ष ऋषिराज घिमिरे, महासचिव परितोष पौड्याललगायतले बचत तथा ऋण सहकारीको गुणस्तर र स्तरीकरणका लागि साकोस एकरुपता प्रणाली अनिवार्य रहेको बताउनुभयो । सो अवसरमा सहकारीमा विद्यावारिधि प्राप्त गर्ने डा विश्वमोहन आचार्यलाई सम्मान गरिएको थियो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया