सहरी विकास मन्त्री खड्कालाई मातृशोक

इनेप्लिज २०७२ साउन ३१ गते १५:२६ मा प्रकाशित

गाईघाट (उदयपुर), ३१ साउन । सहरी विकास मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्कालाई मातृशोक परेको छ ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१४ चुहाडेस्थित झोरापाटामा गएराति मन्त्री खड्काको १०० वर्षीया आमा धर्मकुमारी खड्काको स्वर्गारोहण हुनुभएको हो ।

मन्त्री खड्का राजधानी काठमाडाँैबाट आजै उदयपुरस्थित आफ्नो गृहस्थानमा आई स्थानीय त्रियुगा नदीमा स्व माताको अन्तिम दाहसंस्कार गर्नुभएको उहाँको परिवारजनले जनाएको छ ।

क्षेत्री परम्पराअनुसार १३ दिन किरियापुत्री बस्नुपर्ने संस्कार भए तापनि देशको राजनीतिक परिस्थिति र मन्त्री पदमा रहनुभएका कारण खड्काले पाँच दिनमा नै किरियापुत्रीको काम सम्पन्न गर्ने उहाँको परिवारजनले बताएको छ ।

स्व धर्मकुमारी खड्काको मन्त्री खड्कासहित चारभाई छोरा र एक छोरी हुनुहुन्छ । मन्त्री खड्का जेठो छोरो हुनुहुन्छ ।

प्रतिक्रिया