शनिबार, असार ५ २०७८
काठमाडौं १४:२४
वासिङटन डिसी 04:39

उद्योग मन्त्रीको ‘एपेन्डिक्स’को शल्यक्रिया

इनेप्लिज २०७२ साउन ३१ गते १५:२५ मा प्रकाशित

Rss_Images_1439728387761_RG-BKT-Mantri Basnet- salyakiryaभक्तपुर, ३१ साउन । बिरामी भएर आज बिहान ३ बजे अस्पताल भर्ना हुनुभएका उद्योग मन्त्री महेश बस्नेतको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ ।

भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा उहाँको अस्पतालका प्रोफेसर डाक्टर राकेश बर्मा, डा रामभक्त कोजुलगायतका चिकित्सकको टोलीले शल्यक्रिया गरेको हो ।

क्रोनिक एपेन्डिसाइड भएका कारण इन्फेक्सन हुने भन्दै आज साँझसम्म कसैलाई भेट्न नदिएको अस्पतालका निर्देशक गोपी न्यौपानेले जानकारी दिनुभयो । पोस्ट अपरेटिभ वार्डमा राखिएका मन्त्री बस्नेतलाई पूर्णरुपमा निको हुन कम्तीमा चार दिन लाग्ने उहाँले बताउनुभयो ।

शनिबार रातिदेखि पेट दुख्न थालेपछि बस्नेतलाई आज बिहान ३ बजे अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । अस्पतालका निर्देशक नवीनचन्द्र श्रेष्ठका अनुसार, चिकित्सकले मन्त्री बस्नेतलाई क्रोनिक एपेन्डिसाइड भएको प्रारम्भिक स्वास्थ्य परीक्षणमा पत्ता लगाएपछि बिहान १० बजेदेखि एक घन्टा लगाएर शल्यक्रिया गरिएको हो ।

मन्त्री बस्नेतले शुक्रबार साँझदेखि पेट दुख्न सुरु भएको र शनिबार बेलुकीदेखि पेट दुख्ने तथा बान्ता भएको बताउनुभयो ।

शल्यक्रियामा संलग्न डा वर्माले अस्पताल ल्याउन ढिला हुँदा एपेन्डिसाइड बिग्रिसकेकाले केही सचेत हुनुपर्ने बताउँदै शल्यक्रियापछि मन्त्री बस्नेतको अवस्था भने सामान्य रहेको बताउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्री खगराज अधिकारी, युवा सङ्घका अध्यक्ष निरु पाल लगायतले अस्पतालमा पुगेर मन्त्री बस्नेतलाई भेटगरी उहाँको अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया