दादुरा–रुबेला खोप अभियान सुरु

इनेप्लिज २०७२ साउन ३० गते १०:५० मा प्रकाशित

bcg-khopभक्तपुर, ३० साउन । भूकम्पपछि दादुरा–रुबेलाको महामारी फैलन नदिन आजदेखि यहाँ बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने अभियान सुरु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले आगामी भदौ २० गतेसम्म दुई चरणमा जिल्लाभरका छ महिनादेखि पाँच वर्षसम्मका ३१ हजार ६५ बालबालिकालाई खोप दिने कार्यालयका प्रमुख यशोदा अर्यालले जानकारी दिनुभयो ।

कार्यालयले पहिलो चरणमा मध्यपुरथिमी, चाँगु, अनन्तलिङ्गेश्वर, महामञ्जुश्री–नगरकोट र सूर्यविनायक नगरपालिकामा साउन ३० गतेदेखि भदौ १० गतेसम्म र दोस्रो चरणमा भक्तपुर नगरपालिकामा भदौ १० गतेदेखि २० गतेसम्म खोप अभियान सञ्चालन गर्ने भएको हो ।

खोप अभियानमा सहभागी हुने स्वयम्सेवीलाई तालिम दिइएको जानकारी कार्यालयका खोप अधिकृत पार्थमणि न्यौपानेले दिनुभयो । खोपपछि केही समस्या आएमा भक्तपुरका सबै अस्पतालमा निःशुल्क उपचार सेवा दिइने छ । बिरामी भइरहेका अवस्थामा भने बालबालिकालाई सो खोप दिन नहुने बताइएको छ । नेपालमा सन् २०२० सम्ममा दादुरा–रुबेला रोग निवारण गरिने लक्ष्य छ ।

प्रतिक्रिया