बुधबार, असार ९ २०७८
काठमाडौं ०३:५८
वासिङटन डिसी 18:13

संविधान लेखन पहिलो प्राथमिकता परेकाले स्थानीय निर्वाचन गर्न सकिएन: उपप्रधानमन्त्री सिंह

इनेप्लिज २०७२ साउन २९ गते १२:२१ मा प्रकाशित

Rss_Images_1439532066537_AR-KTM-DPM Singhकाठमाडौँ, २९ साउन । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले संविधान लेखन कार्यलाई पहिलो प्राथमिकता दिनुपरेकाले स्थानीय निकायका निर्वाचन गर्न नसकिएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो – “जनताको माग र आवश्यकता संविधानसभाबाट संविधान जारी गर्नु नै रह्यो, यसैमा सबै राजनीतिक दलले आफ्नो ध्यान लगाए, स्थानीय निकायको निर्वाचन गर्दा सङ्घीयता ओझेलमा पर्छ भन्ने प्रतिपक्षी स्वर पनि बलिया भए यसैले निर्वाचन गर्न नसकिएको हो ।”

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मध्यमाञ्चल विकास क्षेत्रको वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले वर्तमान सरकार गठन भएपछि स्थानीय निकायको निर्वाचन गर्ने विषय प्राथमिकतामा नै रह्यो भन्नुभयो ।

स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा यसको असर जनतामा नै परेको छ, यस्तो परिस्थितिलाई ध्यान दिई स्थानीय निकायमा कार्यरत कर्मचारीले आफूलाई सुम्पिएको जिम्मेवारीलाई निर्वाह गर्न मन्त्री सिंहले निर्देशन दिनुभयो । उहाँले काम लिएर कार्यालयमा आएका जनताका काम तुरुन्त गर्न र नहुने रहेछ भने यो कारणले हुँदैन भन्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

समीक्षा बैठकमा सो विकास क्षेत्रका १९ जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी, ६८ नगरपालिकाका कार्यकारी अधिकृत तथा मन्त्रालयका उच्चपदस्थ अधिकृतको सहभागिता रहेको छ । मन्त्रालयद्वारा सञ्चालित कार्यक्रमका बारेमा समीक्षा गर्न आयोजित सो बैठक तीनदिनसम्म चल्नेछ ।

कार्यक्रममा मुख्य सचिव डा सोमलाल सुवदीले स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा जवाफदेहिता र उत्तरदायित्व खस्केकोले स्थानीय विकास अधिकारी, कार्यकारी अधिकृत तथा गाविसका सचिवले आफूलाई कार्यसंस्कृतिमा सुधार ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले स्थानीय विकास अधिकारी र कार्यकारी अधिकृतसित मन्त्रालयले कार्यसम्पादन सम्झौता गर्दा सेवा र क्षमता दुवैमा सुधार आएको चर्चा गर्नुभयो ।

नेपाल नगरपालिका सङ्घका महासचिव विदुर सापकोटा र नेपाल गाविस सङ्घका महासचिव भीम ढुङ्गानाले संविधानको मस्यौदामा उल्लेख गरिएका स्थानीय निकायका अधिकारलाई संविधान जारी गर्दा कटौती नगर्न आग्रह गर्नुभयो ।

स्थानीय विकास मन्त्रालयका निमित्त सचिव रेश्मीराज पाण्डे र सहसचिव गोकर्णमणि दुवाडीले मन्त्रालयद्वारा सञ्चालित ४६ वटा कार्यक्रमका प्रभावकारी कार्यान्वयनका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया