अभिभावकको चन्दाले विद्यालय धानिँदै

इनेप्लिज २०७२ साउन २९ गते १:५५ मा प्रकाशित

Baglung_district_locationबागलुङ, २९ साउन । विद्यार्थी सङ्ख्या उल्लेख्य भएर पनि शिक्षक दरबन्दीको अभाव झेलेको यहाँको एक माध्यमिक विद्यालय चन्दाको भरमा चलेको छ ।

तलब र नियमित खर्चसमेत नजुटेपछि तारा–६ मा रहेको दुर्गा भवानी माविले कक्षा ९ र १० मा पढ्ने विद्यार्थीका अभिभावकबाट मासिक चन्दा लिन थालेको छ । “अभिभावकले राजीखुसी विद्यालयलाई नियमित सहयोग गरिरहेको छ, शिक्षकलाई तलब खुवाउनै नसक्ने अवस्था आएपछि यसो गरिएको हो”, विद्यालयका प्रधानाध्यापक टेकबहादुर घर्तिमगरले भन्नुभयो ।

विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यालयले गत असारबाट अभिभावकबाट मासिक रु २५० का दरले सहयोग लिन सुरु गरेको प्रअ घर्तिमगरले बताउनुभयो । जम्मा ४१२ जनाले पढ्ने विद्यालयमा एक मात्र शिक्षकको स्थायी दरबन्दी छ । बाँकी सबै शिक्षक राहत दरबन्दी र स्थानीय स्रोतबाट राखिएका छन् ।
छपन्न वर्ष पुरानो सो विद्यालय २०६७ सालमा मावि बने पनि सो तहमा शिक्षक दरबन्दी शून्य छ । निमाविमा चार राहत दरबन्दी र प्राविमा चार राहतसहित एक स्थायी दरबन्दी छ । मावि तहका शिक्षकलाई तलव खुवाउन धौ–धौ भएपछि अभिभावकबाट नियमित सहयोग लिन थालिएको हो । गत चौमासिकमा रु एक लाख २० हजार ऋण काढेर तलब खुवाएको र शिक्षक तलबमा मात्रै मासिक रु डेढ लाखभन्दा बढी खर्च हुने गरेको प्रअ घर्तिमगरले बताउनुभयो ।

विद्यालयले दरबन्दीबाहेकका शिक्षकको तलब चन्दा सहयोग, सामुदायिक वनको आम्दानी, वृक्षरोपण, आर्थिक सहायता लगायतका क्षेत्रबाट जुटाउने गरेको छ । विद्यार्थी सङ्ख्या उल्लेख्य हुँदा पनि जिल्ला शिक्षा कार्यालयबाट स्थायी दरबन्दी व्यवस्थाका लागि कुनै पहल हुन सकेको छैन । गत वर्ष भएको दरबन्दी मिलानमा पनि उक्त विद्यालयले शिक्षक पाउन नसकेको प्रअ घर्तिमगरको भनाइ छ ।

प्रतिक्रिया