चित्त नबुझेका विषय वार्ताबाटै समाधान गर्न सकिन्छ: प्रम

इनेप्लिज २०७२ साउन २८ गते १३:३४ मा प्रकाशित

Nepal-Prime-Minister-Sushil-Koiralaकाठमाडौँ, २८ साउन । प्रधानमन्त्री सुशील कोइरालाले संविधानको मस्यौदामा चित्त नबुझेका विषयमा वार्ता, एकता र सहमतिबाटै समस्याको उपाय खोज्न आह्वान गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष सम्बोधन गर्दै उहाँले अब संविधान आउने निश्चित भएको र यसबाट फर्किने अवस्था नरहेको स्पष्ट गर्नुभयो । संविधान निर्माण हुन लागेका समयमा सहयोग पु¥याउन सबैमा आह्वान गर्नुभयो ।
“चित्त नबुझेका कुरा वार्तामा राखौँ, यहीबाट हल खोजौँ, आन्दोलनको बाटोभन्दा सहमतिको बाटो बलियो हुन्छ”–उहाँले भन्नुभयो ।

“सबैका हक अधिकार यसैमा स्थापित हुँदैछ, वार्ता, सहमति र सहकार्य र एकताबाटै संविधान निर्माण पूरा हुँदैछ, सात सालदेखि विभिन्न चरणका आन्दोलन र प्रयासबाट मुलुकमा ठूलो परिवर्तन भएको छ, सङ्घीयताका प्राप्ति नौलो कुरा भएको छ ” प्रधानमन्त्री कोइरालाले भन्नुभयो – “सङ्घीता लागू भएपछि कठिनता देखिएको छ, त्यो कठिनाइ मिलेर समाधान गर्नुपर्छ, म विश्वास दिलाउन चाहन्छु सबैका हक अधिकार स्थापित हुँदैछन्, कुनै पनि आन्दोलन र तोडफोड गर्नु आवश्यक छैन ।”

संविधान समयानुकूल परिवर्तन हुने
हालको मस्यौदा अन्तिम नभएको र संविधानलाई पछि पनि समयानुकूल परिवर्तन गर्न सकिने भएकाले सबैलाई धैर्य गर्न प्रधानमन्त्री कोइरालाले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “जनताद्वारा निर्माण हुने संविधान आउँदैछ, शान्ति, स्थायित्व, लोकतन्त्रलाई स्थापित गरी विकासमा जानु परेको छ, अहिले साराको दृष्टि नेपालमा केन्द्रित छ, शान्ति र स्थायित्व यो देशले कहिल्यै देख्न पाएन, संविधान बनेपछि हामी शान्ति र विकासमा लान चाहन्छौँ ।”

प्रतिक्रिया