स्याङको चालीस रोपनी जग्गामा वृक्षरोपण

इनेप्लिज २०७२ साउन २८ गते ४:४५ मा प्रकाशित

Rss_Images_1436883037038_GL-Ilam-Briksyaropan (1)मुस्ताङ, २८ साउन । हिमाली जिल्ला मुस्ताङको मार्फा गाविसमा ४० रोपनी जग्गाका विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आर्थिक सहयोगमा संरक्षण व्यवस्थापन समिति मार्फाले स्याङ गाउँमा ४०० बिरुवा रोपण गरिएको हो । गाउँमा हरियाली बढाउन एक्यापबाट प्राप्त रु एक लाख ४० हजार आर्थिक सहयोग र स्थानीय श्रमदानमा वृक्षरोपण गरिएको व्यवस्थापन समितिका अध्यक्ष आशबहादुर थकालीले जानकारी दिनुभयो ।

“गाउँमा रूख काटिँदै गएपछि पहिरोको पनि डर हुनेभयो, त्यसैले वृक्षरोपण गरेका हौँ”, व्यवस्थापन समितिका अध्यक्ष थकालीले भन्नुभयो, “हामी नियमित रुपमा वृक्षरोपण गर्दै आएका छौँ ।” उहाँका अनुसार २७० गोब्रे सल्ला, १०० डालेघाँस, २० वटा विकासे धुपी, १५ वटा लोकल धुपी र उत्तिस बिरुवा रोपिएको छ । एक्यापले मुस्ताङका सबै गाविसमा आवश्यकताको आधारमा बिरुवा वितरण गरेर वृक्षरोपण अभियान सञ्चालन गर्दै आएको छ । अहिले जोमसोम, मार्फा, कागबेनी, मुक्तिनाथ, लेतेलगायत गाविसमा स्थानीय व्यवस्थापन समितिको सहकार्यमा धमाधम वृक्षरोपण गरिएको एक्याप जोमसोमका पर्यटन सहायक बेल पुनले जानकारी दिनुभयो ।

“यो हाम्रो नियमित कार्यक्रम हो, स्थानीय किसानले माग गरेको आधारमा हामीले विभिन्न प्रजातिका बिरुवा तथा बेर्नाहरु वितरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “३० हजारभन्दा बढी बिरुवा तथा बेर्ना वितरण गरिसकेका छौँ ।” जिल्लाको उपल्लो मुस्ताङका ६ गाविसमा एक्याप लोमान्थाङअन्तर्गत बिरुवा र बेर्ना वितरण हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया