किसानलाई पशु सुत्केरी खर्च रकम वितरण

इनेप्लिज २०७२ साउन २७ गते ४:०४ मा प्रकाशित

रामपुर (पाल्पा), २७ साउन । पशु बीमा गरेका किसानलाई पशु सुत्केरी खर्च रकम यहाँ वितरण गरिएको छ ।

सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुरले मङ्गलबार ६४ वटा पशुको सुत्केरी खर्च रकम किसानलाई वितरण गरेको हो ।

असारबाट यता सुत्केरी भएका भैँसी २६, गाई २५ र बङ्गुर १३ वटाको सुत्केरी खर्च र दुईवटा पशुको अनुत्पादक क्षतिपूर्ति बापतको बीमा गरेको रकमको २५ प्रतिशत रकम वितरण गरिएकोे हो । संस्थामा बीमा गरेका पशु सुत्केरी भएमा किसानलाई प्रोत्साहनस्वरुप रु ५०० सुत्केरी खर्च रकम वितरण गरेको व्यवस्थापक हरिप्र्रसाद सिग्देलले बताउनुभयो ।

जिल्ला पशु सेवा कार्यालय पाल्पाका वरिष्ठ पशु विकास अधिकृत तुल्सीराम भण्डारीले पशु सुत्केरी खर्च रकम वितरण गर्दै नेपालमै नमुनाका रुपमा पशु सुत्केरी खर्च कार्यक्रम सहकारीले रामपुरमा पहिलोपटक ल्याएको र यस कार्यक्रमबाट पशुपालनको इतिहासमा नौलो आयाम थपेको बताउनुभयो ।

उहाँले पशुको नाममा संस्थाबाट प्र्रदान गरिएको सुत्केरी खर्च रकम अन्यत्र खर्च नगरी पशुमै खर्च गर्न आग्रह गर्नुभयो ।
गत माघबाट सुरु भएको पशु सुत्केरी खर्च कार्यक्रमले अहिलेसम्म संस्थामा बीमा गरेका पशुमध्ये ९६ पशुको सुत्केरी खर्च रकम किसानलाई उपलब्ध गराएको संस्थाका अध्यक्ष कृष्णकुमार अर्यालले बताउनुभयो ।
सहकारीले बीमा गरेका पशु सुत्केरी भएबापत सुत्केरी खर्च रकम दिँदा पशु बीमा गर्नुपर्छ भन्ने चेतनाको विकास कृषकमा भएको अगुवा कृषक गणेश आचार्यले सुत्केरी खर्च रकम बुझ्दै भन्नुभयो ।

भैँसीपालक कृषक आबुकुमारी मल्लले संस्थामा रु ६० हजारमा बीमा गर्नुभएको लैनो भैँसी अनुत्पादक भएपछि अनुत्पादकस्वरुप रु १५ हजार पाएकामा खुसी व्यक्त गर्नुभयो । त्यस्तै अर्का बङ्गुर फार्म संञ्चालक सुर्जेबहादुर रामजालीले सातवटा बङ्गुरको सुत्केरी खर्चबापतको रु तीन हजार ५०० बुझ्दै सो रकमले बङ्गुरलाई पोषणयुक्त भिटामिन किनेर खुवाउने बताउनुभयो ।

प्रतिक्रिया