ताराखोलाको साना जलविद्युत् आयोजना अलपत्र !

इनेप्लिज २०७२ साउन २६ गते १:४० मा प्रकाशित

बलेवा (बागलुङ), २६ साउन । जिल्लाको गलकोट क्षेत्रका दुई हजार २०० घरधुरीलाई लक्षित गरी सुरु गरिएको जलविद्युत् आयोजना अलपत्र परेको छ ।

जिल्लाको पश्चिम तारा, हिल र अर्गल गाविसलाई समेट्ने गरी २०६८ वैशाखदेखि निर्माण सुरु गरिएको ३९४ किलोवाट क्षमताको ताराखोला सामुदायिक साना जलविद्युत् आयोजना अलपत्र परेको हो ।

रु १६ करोडको लागतमा सुरु गरिएको आयोजना तारा गाविस–८ घप्लेङ मुहानदेखि पानी लगेर सोही वडाको धस्मरमा विद्युत्गृह निर्माण गरिने छ ।

विद्युत् आयोजनाको निर्माणका लागि स्थानीयको रु तीन करोड सेयर, नेपाल सरकारअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु छ करोड २७ लाख ८० हजार अनुदान र जिल्लाकै पहाडी हाइड्रोपावर कम्पनीको रु एक करोड लगानी छ ।

हालसम्म रु पाँच करोड लागतमा मुहान, ९०० मिटरको कुलो, फोरवे, डिस्टेनिङलगायतका सिभिल निर्माणका काम पूरा भइसकेको आयोजनाका इन्जिनियर राजेन्द्र खनालले बताउनुभयो । आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि ३०० मुख्य लाइनका पोल गाडिएकोे आयोजनाले जनाएको छ । आयोजनाको काम अहिले भने अवरुद्ध छ ।

आयोजना अलपत्र बनेपछि स्थानीय निरास बनेका छन् । आफूले ऋण गरेर दिएको रकमबाट सुरु गरिएको आयोजना अलपत्र अवस्थामा देख्दा मन दुख्ने गरेको स्थानीय हर्कबहादुर श्रीषले बताउनुभयो ।

उहाँले जतिसक्यो चाँडो निर्माण कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । आयोजना उपभोक्ता समिति नै निस्क्रिय बनेर जनताको करोडौँ रुपैयाँ डुब्ने अवस्थामा पुग्दासम्म कुनै सरोकारवाला निकायले नै चासो नलिएको गुनासो स्थानीयवासीको छ ।

प्रतिक्रिया