संवाद समितिको प्रतिवेदन सबै सभासद्लाई हस्तान्तरण

इनेप्लिज २०७२ साउन २५ गते १३:५७ मा प्रकाशित

काठमाडौँ, २५ साउन । संविधानसभा सचिवालयले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आइतबार संविधानसभामा पेस गरेको प्रतिवेदन सभासद्हरुलाई वितरण गरेको छ ।

सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार संविधानसभामा प्रतिनिधित्व गर्ने दलका सबै सदस्यलाई संसदीय दलमार्फत ‘पिजन होल’मा पुर्‍याइएको छ ।

सभाध्यक्ष सुवास नेम्वाङले आइतबारको संविधानसभाको बैठकमा सबै सदस्यलाई समयमै उपलब्ध गराइने घोषणा गर्नुभएको थियो । सभाध्यक्षको घोषणाअनुसार नै सबै सभासद्को पिजन होलमा प्रतिवेदन पु¥याइएको सहायक प्रवक्ता कुइँकेलको भनाइ छ ।

प्रतिवेदनमा राजनीतिक दल, सभासद्ले स्वतन्त्र रुपमा पेस गरेको फरक मतसमेत समावेश गरिएको छ । यस्तै सभासद्हरुले संवाद समितिको बैठकमा राखेका धारणालाई समेत राखिएको छ ।

सभासद्ले संविधानसभामा नै प्रतिवेदन अध्ययन गर्न नपाएको गुनासो गरेपछि सबै सभासद्लाई सहज रुपमा प्रतिवेदन उपलब्ध गराइएको सचिवालयले जनाएको छ ।

संविधानसभाले मङ्गलबार संवाद समितिले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरेको छ । प्रतिवेदनमाथि छलफल भएपछि संविधानसभाले संविधान मस्यौदा समितिमा पठाउनेछ । मस्यौदा समितिलाई पाँच दिनको समय सीमा दिएर मस्यौदालाई थप परिस्कृत र परिमार्जित गरिनेछ ।

मस्यौदा समितिले विधेयक तयार पारेर संविधानसभामा पेस गर्नेछ । विधेयकमाथि संशोधनको प्रस्ताव पेस गर्न समय प्रदान गरिनेछ भने दफाबार छलफल गरिनेछ ।

दफाबार छलफलपछि प्रत्येक धारालाई दुई तिहाइ मतले संविधानको विधेयक पारित गरिनेछ । विधेयक पारित भएपछि संविधानसभामा हाल कायम रहेका ५९७ सभासद्ले हस्ताक्षर गर्ने र संविधानसभाका अध्यक्ष नेम्वाङले प्रमाणीकरण गरेपछि राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधान घोषणा गर्नुहुनेछ ।

प्रतिक्रिया