शनिबार, असार १८ २०७९
काठमाडौं २२:२७
वासिङटन डिसी 12:42

राजेश्वरको भौतिक चोलाले बिसायो भारी…

इनेप्लिज २०७२ साउन २५ गते १०:३८ मा प्रकाशित

Rajeshwor-Debkota-6काठमाडौंँ, २५ साउन । ‘भरियाले बिसायो भारी, भञ्ज्याङको पिपलु छायाँमा…’ बोलका रचनाकार वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको भौतिक शरीरले आज भारी बिसाएको छ ।

विसं २००७ मा जनकवि केशरी धर्मराज थापाले देवकोटाको त्यही गीत रेडियो नेपालमा रेकर्ड गराएर आफ्नो गायनयात्रा प्रारम्भ गर्नुभएको थियो । अहिलेका पुस्ताले त्यसबेलाका रचना र देवकोटाका ‘जयतु संस्कृतम् आन्दोलन’ देखिको योगदानबारे अनुभव गर्न नपाए पनि इतिहासमा उहाँको व्यक्तित्व लिपिबद्ध भइसकेको छ ।

देवकोटाले विसं २००४ मा दार्जिलिङबाट प्रकाशित हुने ‘भारती’ मा कविता छपाएर साहित्यमा प्रवेश गरेको पाइन्छ । उहाँका नेपाली व्याकरण (व्याकरण, विसं २०१८), युगल काव्य (हास्यव्यङ्ग्य, विसं २०३९), आवर्तन (उपन्यास, विसं २०४१), द्वन्द्वको अवसान (उपन्यास, विसं २०४२), पूर्वकथा (उपन्यास, विसं २०४३), उत्सर्ग प्रेम (उपन्यास, विसं २०४४), एक राष्ट्रिय प्रस्ताव (राजनीति, विसं २०४८), उदारवाद (राजनीति, विसं २०४८), पूर्णिमा (उपन्यास, विसं २०५४), वैध क्रान्ति (राजनीति, विसं २०५५), डबली (उपन्यास, विसं २०५९), पाँच कथा (कथा, विसं २०६७), महाराजको भूत (उपन्यास, विसं २०६८), स्वन (कविता, विसं २०६८), माया (स्मृतिग्रन्थ, विसं २०६८) लगायत पुस्तक प्रकाशित छन् ।

छयासी वर्षको उमेरमा देवकोटाको आज बिहान निधन भएको छ । विसं २००७ को जयतु संस्कृतम् आन्दोलनका एक अगुवा देवकोटा राष्ट्रिय पञ्चायतका अध्यक्ष र मन्त्रीसमेत हुनुभएको थियो । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक, राष्ट्रवादी अभियानका संयोजक हुनुहुन्थ्यो । साहित्यिक आख्यान लेखनमा पनि स्थापित देवकोटाले ‘उत्सर्ग प्रेम’ उपन्यासका लागि २०४४ सालमा मदन पुरस्कार पाउनुभएको थियो ।

यस्तै, साझा पुरस्कार, वेदनिधि, भानुजस्ता पुरस्कार पनि उहाँले पाइसक्नुभएको थियो । उहाँको जन्म विसं १९८६ को असोज २३ गते गोरखाको पण्डित गाउँ, लिगलिगमा पिता हरिभक्त र माता बसुन्धरा देवकोटाका पुत्रका रूपमा भएको थियो । विसं २००४ को जयतु संस्कृतम् आन्दोलनमा अगुवा भएपछि देश निकाला खेप्नुभएका उहाँ राजनीतिमा प्रवेश गर्नुभयो ।

राजनीति र साहित्यमा एकसाथ आफूलाई निरन्तर उभ्याउनुभएका देवकोटालाई पछिल्लो समयमा मूलतः साहित्यिक र राष्ट्रवादी अभियानमा सक्रिय हुनुहुन्थ्यो । राजनीतिमा लामो समय पञ्चायतको नजिकमा रहेर काम गरे पनि लोकतान्त्रिक आन्दोलनमा लागेका नेता तथा स्रष्टाले पनि उहाँको साहित्यिक व्यक्तित्वलाई सम्मानका साथ लिने गरेको पाइयो । राजनीतिज्ञ तथा साहित्यकार प्रदीप नेपाल देवकोटालाई आफूले एक प्रकारको गुरु मान्दै आएको बताउनुहुन्छ । ‘भरियाले बिसायो भारी, भञ्ज्याङैको पिपलु छायाँमा…’ गीत कक्षा पाँचमै पढेको र अहिले पनि मुखाग्र सम्झना हुने गरेको स्मरण गर्दै उहाँले आफूले एक दशकअघि सो गीतको सन्दर्भसहित लेख लेखेपछि देवकोटासँग नजिकको सम्पर्क भएको बताउनुभयो । पाँच कक्षामा पढ्दा त्यो गीत कसले लेखेको थाहा नपाए पनि पछि देवकोटा स्वयम्ले आफूलाई त्यसबारे जानकारी गराएपछि उहाँप्रति सम्मानभाव पैदा भएको प्रतिक्रिया दिनुभयो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती देवकोटाले वरिष्ठतम् राजनीतिज्ञ, बुद्धिजीवी र साहित्यिक क्षेत्रका आख्यान विधालाई महत्वपूर्ण योगदान दिएको बताउनुहुन्छ । “देवकोटाले राजनीति र लेखनीमा राष्ट्रिय स्वार्थका विषयमा कहिले पनि सम्झौता गर्नुभएन,” उप्रेतीले भन्नुभयो – “देवकोटाको पछिल्लो उपन्यास ‘विश्वास’ केही महिनाअघि प्रज्ञाप्रतिष्ठानको हलमा कुलपति उप्रेतीबाटै लोकार्पण भएको थियो ।

समालोचक डा मोहनहिमांशु थापा साहित्यमा विशेष गरी निबन्ध र हास्यव्यङ्य हुँदै पछि उपन्यासमा प्रविष्ट भएको र उपन्यासमा नयाँ सोच तथा धारणासहित देवकोटा आएको बताउनुभयो । थापाले भन्नुभयो – “राजनीतिमा लागेको मानिसले साहित्यिक सिर्जना गर्नु ठूलो गौरवको विषय हो । त्यसमा पनि राजनीति र साहित्यमा राष्ट्रवादी धारलाई निरन्तर कायम राख्न सक्नु सकारात्मक पक्ष हो ।”

राजनीतिक सन्दर्भमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदा पनि हास्यरस पस्कने देवकोटाले २०५६ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको प्रस्ताव सर्वाेच्च अदातलले खारेज गरेको फैसलाबारे उहाँको कटाक्ष थियो, “सर्वाेच्चमा गोरु ब्यायो ।”

प्रतिक्रिया