ताप्लेजुङमा किसान रुद्राक्षखेतीतर्फ आकर्षित

इनेप्लिज २०७२ साउन २५ गते १०:२२ मा प्रकाशित

204699634ताप्लेजुङ, २५ साउन । धार्मिक एवम् आध्यात्मिक रुपमा महत्वपूर्ण मानिने रुद्राक्षको माग बढ्दै गएपछि यसको खेतीतर्फ ताप्लेजुङका कृषक आकर्षित हुन थालेका छन् ।

पछिल्लो समय धान, मकै उब्जाउ हुँदै आएको खेतबारी नै मासेर यहाँका किसानले रुद्राक्ष रोप्न थालेका छन् । सदरमुकाम फुङ्लिङस्थित विभिन्न जातका बोटबिरुवा खरिद बिक्री गर्दै आएको मुकुम्लुङ जडीबुटी सञ्जालबाट दैनिक सरदर एक सय बढी रुद्राक्षका बिरुवा किसानले लैजाने गरेका छन् ।

सञ्जालका प्रमुख संगीता मादेनका अनुसार एकैजना किसानले करिब ४०० बढी बिरुवा लगेका छन् । अहिले पनि बिरुवाको माग उत्तिकै रहेको उहाँको भनाइ छ । सञ्जालले किसानलाई प्राविधिक सहयोग गर्ने गरेको छ । यहाँबाट रुद्राक्षको प्रतिबिरुवा रु ३०० देखि रु ३५० सम्ममा बिक्री हुने गरेको छ । “बिरुवा सङ्खुवासभादेखि खरिद गरेर ल्याउछुँ” उहाँले भन्नुभयो ।

पूर्वी पहाडी जिल्ला भोजपुर, सङ्खुवासभालगायतका जिल्लाका किसानले रुद्राक्षबाटै मनग्य आम्दानी गरेको खबर सुनेपछि १५ रोपनी जग्गामा रुद्राक्षखेती गरेको हाम्पाङ गाविसका कृषक बालचन्द्र आङ्बुहाङले बताउनुभयो । उहाँले धान, मकै उब्जाउ हुँदै आएको खेतबारी नै मासेर रुद्राक्षखेती गर्नुभएको छ ।

जिल्लाका पश्चिमी गाविस लिङ्तेप, थुकिमा, लेलेप, थापेथोक, पापुङ, चागे, हाम्पाङका किसानले खेतबारी नै मासेर रुद्राक्ष खेती सुरु गरेका छन् । यस्तै सिनाम, आम्वेगुदिन, पेदाङ, मामांखेलगायतका किसानले समेत यसको खेती सुरु गरेका छन् । दुई वर्षअघि किबीको खेती गर्न थालेका पेदाङका पूर्णबहादुर सिलिम्बुले करिब २०० रुद्राक्षका बिरुवा रोपेका छन् ।

प्रतिक्रिया